विराटनगर । शुक्रबार बसेकाे १ नम्बर प्रदेशसभा बैठकले विनियोजन विधेयक, २०७६ पारित गरेको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(१२) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । प्रदेश नम्बर १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२१ बमोजिम विनियोजन विधेयक, २०७६ माथि नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य शिवनारायण गनगाँईले दर्ता गराउनुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार भयो ।
उनले अर्थ विविध भइपरी आउनेमा दुई करोडमा एक करोड रुपैयाँ कटौती हुनुपर्ने र अर्थ विविध भइपरी आउनेमा विनियोजन भएको एक अर्बमा सबै हटाउनुपर्ने प्रस्ताव दर्ता गराएका थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन गरेको बजेटमा चालूतर्फ ४३.९ प्रतिशत, पुँजीगततर्फ ५५.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ०.२ प्रतिशत व्यवस्था गरेको जानकारी दिए ।
प्रदेशसभाको बैठकमा सदस्यले उठाएको प्रश्नको जवाफमा उनले संविधानबाट अधिकार प्राप्त प्रदेश सरकारले कुनै भवितव्य समस्या समाधान गर्न अर्थ विविधमा बजेटको व्यवस्था गरेको स्पष्ट पारे ।
आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश सरकारले यही महिनाको असार १ गते ४२ अर्ब २० करोड चार लाख १२ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको थियो । जसमा चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार, पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार, वित्तीय व्यवस्थातर्फ आठ करोड र अन्तरसरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संविधान मातहत बन्ने कतिपय कानुन संघीय सरकारले बनाइनसकेकाले कानुनको अभावमा प्रदेश सरकारले कानुन बनाउन नसकेको जानकारी दिए । रासस
