काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेलाई तोकिएको थियो । बैठक सुरु भयो । राष्ट्रिय गान बजेपछि सबै बसे ।
सभामुखले प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ मात्रै के भनेका थिए । केही सांसद्हरू जर्याकजुरुक उठे । उठ्नेहरू थिए, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरू ।
सांसद्हरू उठ्नासाथ सभामुखले एक मिनेट पनि ढिलो नगरी भने, ‘मान्य सदस्यहरू, केही यहाँहरूले राख्न खोज्नुभएको छ ।’
यति भन्दै उनले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडलाई समय दिए । उनलाई बोल्न समय दिएपछि उठेका सांसद् बसे । बैठकको कार्यबाही अघि बढ्यो ।
उनले जनप्रतिनिधिले बोलेको कुरालाई सरकारले हल्कासित लिएको भन्दै गुनासो गरे । उनले भने, ‘हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति सन्तुलनको व्यवस्था गरेको छ । हाम्रो व्यवस्थापिका संसद्मा जनप्रतिनिधि साथीहरूले बोलिराख्नुभएको छ । दलका प्रतिनिधिहरूले बोलिराख्नुभएको छ । ती बोलेका कुरालाई कार्यपालिकाले जुन गम्भीरतापूर्वक लिनुपर्ने हो, त्यो लिएको पाइएन ।’
सांसद्को कुरा मात्रै सरकारले नसुनेको भन्दा पनि सभामुखको रुलिङलाई पनि सरकारले बेवास्ता गरेकोप्रति उनको आक्रोश थियो ।
उनले भने, ‘प्रतिनिधिसभाका सभामुखज्यूले कतिपय कुरा रुलिङ गर्नुभएको छ । तर उहाँले रुलिङ गरेका कुरालाई पनि सरकारले गम्भीरताका साथ लिएको छैन । सरकारले सम्माननीय सभामुख र सदनको अपहेलना गरिरहेको छ । त्यतापट्टि पनि म गम्भीरतापूर्वक ध्यानाककर्षण गराउन चाहन्छु ।’
सभामुखको रुलिङप्रति सरकार गम्भीर बन्न र कार्यान्वयनको दिशामा अघि बढ्न पनि उनले ध्यानाकर्षण गराए ।
संसदमा बोल्दै सांसद् खाँडले विशेषतः तीन वटा विषयमा सरकारसँग जवाफ माग गरे । सर्लाहीमा मारिएका कुमार पौडेलको विषय, सर्लाहीमै भएको आन्दोलन क्रममा प्रहरीको गोली लागी निधन भएका सरोज सिंहको विषय र हालै सरकारले स्थगन गरेको नाकामा तरकारीको विषादी परीक्षणको विषयमा उनले सरकारको तीव्र आलोचना गर्न भ्याए ।
केही घटनामा उनी सरकारप्रति आक्रोशित देखिन्थे । उनले यी घटनाहरुलाई गम्भीरतासाथ लिएर सदनलाई जानकारी गराउनसमेत माग गरेका छन् ।
कुमार पौडेलको मृत्यु प्रकरण
सर्लाहीमा भएको नेकपा विप्लव समूहका नेता कुमार पौडेललाई प्रहरीले गोली हानेर हत्या गरेको र मुठभेट भनेर फर्जी रिपोर्ट बनाएको उनी दाबी गर्छन् ।
उनी भन्छन्, ‘प्रहरीको रिपोर्टमा मुठभेड भनेर फर्जी रिपोर्ट देखाइएको छ । तर उहाँको शव हेर्दा पहिले गिरफ्तार गरेर अंगभंग गरेर अनि गोली हानेको जस्तो देखिएको छ । यो मानवअधिकार विरोधी कार्य हो ।’
सरकारले यो घटनामा विधि र शासनको खिल्ली उडाएको भन्दै खाँडले कसैले कानुन विपरीत काम गरेमा कानुनी कारबाही गर्ने अधिकार सरकारसँग रहेको बताए ।
भने, ‘कानुन अनुसार नियन्त्रण गर्ने, अनुसन्धान गर्ने, न्यायपालिकामा बुझाउने र न्यायिक प्रक्रियाबाट दोषी ठहरे उसले दोषको जिम्मेवारी बहन गर्ने वैधानिक प्रक्रिया मिचेर मुठभेडको नाममा कसैको हत्या गरिनु निन्दनीय काम हो ।’
सरोज सिंह मृत्यु प्रकरण
सर्लाही जिल्लाको बाँके खोलामा गिटीबालुवा उत्खनन् गर्ने क्रममा परेको खाल्डामा डुबेर एक बालकको निधन भएपछि उत्पन्न परिस्थितिप्रति उनले आक्रोश पोखे ।
‘ठूल्ठूला खाल्डा परेको छ र पानी जमेको छ’, उनले भने, ‘एक जना अमित यादव नाम गरेको बच्चा त्यहाँ डुबेर मर्यो । स्थानीय स्तब्ध भएर न्यायका लागि स्थानीय प्रशासनमा गुहार मागे ।’
उनले सरकारको ध्यानाकर्षण गराउन शान्तिपूर्ण धर्ना दिएका बेला सरकारले गोली प्रहार गरेर २७ वर्षीय सरोजकुमार सिंहको हत्या गरेको आरोप लगाए ।
उनले भने, ‘यो सामान्य घटना होइन । म यस्को निन्दा गर्दछु । यसको जवाफ गृहमन्त्रीले दिनुपर्छ । र, जिम्मा पनि लिनुपर्छ ।
बाँके खोलामा भइरहेको गिटीबालुवा उत्खनन गैरकानुनी रहेको भन्दै उनले त्यसलाई अविलम्ब रोक्न पनि माग गरेका छन् ।
स्थानीयले स्थानीय सरकार र प्रशासनलाई जानकारी गराउँदा पनि त्यसमा रोक नलागेपछि उनीहरुकै मिलेमतोमा उत्खनन् भइरहेको प्रष्ट भएको उनले आरोप लगाए ।
उनले भने, ‘खोलामा गैरकानुनी ढंगले गिटीबालुवा उत्खनन भइरहेको छ । जनताले बारम्बार त्यहाँको नगरपालिका र स्थानीय प्रशासनलाइ ध्यानाकर्षण गराएका छन् । तर उनीहरूकै मिलेमतोमा त्यहाँ वातावरणलाई असर पर्ने गरी काम भइरहेको छ ।’
विषादीयुक्त तरकारी परीक्षण प्रकरण
अहिले चर्चामा रहेको भारतबाट आयातीत तरकारीको विषादी परीक्षण गरेर मात्रै भित्र्याने सरकारको निर्णय दुई दिन पनि नबित्दै स्थगन भएकोमा पनि सांसद् खाँडले आक्रोश पोखे ।
उनले सरकारले लम्पसारवादी चरित्र देखाएको भन्दै भारतको दबाबमा घुँडा टेकेको आरोप लगाए । सरकारले स्वागतयोग्य निर्णय गरेर जनताको स्वास्थ्यबारे चिन्ता देखाए जस्तो गरे पनि निर्णयको मसी नसुक्दै यसबाट पछि हटेर सरकारले गलत गरेको उनले जनाए ।
उनले भने, ‘बाहिरबाट आउने तरकारीको विषादी जाँच गर्ने सरकारको निर्णयको हामीले समर्थन गरेका थियौं । तर केही दिनमै सरकारले घुँडा टेकेको छ ।’
‘हिजो किन रोकियो ? केका लागि रोकियो ? र, आज फेरि त्यही अखाद्य पदार्थ किन भित्र्याउन दिइयो ?’ प्रश्न गर्दै उनले भने, ‘यसको जवाफ सम्बन्धित मन्त्रीले तत्काल दिनुहोस् ।’
यसैगरी उनले संविधान प्रतिकुल हुने गरी अगाडि बढाइएका विधेयक फिर्ता लिन पनि सरकारसँग माग गरे । उनले भने, ‘ती विधेयक सरकारले फिर्ता लेओस् र अबिलम्ब त्यसलाई संविधान अनुकुल बनाएर मात्रै सदनमा अगाडि बढाओस् भन्ने हाम्रो पार्टीको धारणा छ ।’
