काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विषादीयुक्त तरकारी जाँच गर्ने निर्णयमा आफ्नो कमजोरी स्वीकार गरेका छन् ।
आज बसेको राष्ट्रियसभा बैठकमा सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले नाकामा विषादी जाँच गर्ने क्षमता भए/नभएको बुझेर मात्रै आफूले प्रस्ताव लानुपर्नेमा उक्त विषमा बुझ्दै नबुझी निर्णय लिनु आफ्नो कमजोरी भएको बताएका हुन् ।
उनले भने, ‘विषादी जाँच गरेर तरकारी ल्याउने निर्णय गरियो । तर हामीसँग त्यो क्षमता रहेनछ । त्यसमा मेरो कमजोरी भयो । कृषि मन्त्रालयमा त्यो क्षमता रहेनछ भनेर मलाई थाहा भएन ।’
लामो समय सत्तामा बसेर केही गर्न नसकेकाहरूले यो कुरालाई धेरै उचालेको उनको भनाइ थियो ।
प्रयोगशालाको स्थापना नहुन्जेलसम्म मात्र विषादी परीक्षणको निर्णय स्थगित भएको भन्दै मन्त्री यादवले निर्णय नै खारेज नभएको बताए ।
प्लास्टिकको बोतलमा १० प्रतिशत भन्सार र कच्चा पदार्थमा चाहिँ ३७ प्रतिशत भन्सार किन ? भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री यादवले भने, ‘कतिपय बस्तुु यस्ता पनि छन्, जुन कच्चा पदार्थ पनि हो र सहायक कच्चा पदार्थ पनि हो । त्यसमा भिन्नता थियो र त्यसै अनुसार त्यस्तो पर्न गएको हो । त्यसमा निजी क्षेत्रसँग छलफल गरेर अगाडि बढ्न तयार छौँ ।
विशेष आर्थिक क्षेत्र (सेज) थोरै ठाउँमा भयो र धेरै ठाउँमा भेदभाव भयो भन्ने जिज्ञासाको जवाफ दिँदै उनले आवश्यकताअनुसार ओद्योगिक क्षेत्र र सेज फरक रहेको बताए । सेज सबै ठाउँमा विस्तार गर्ने योजना रहेको तर पहिलो आवश्यकता औद्योगिक क्षेत्र भएकाले त्यसलाई सबै क्षेत्रमा व्यवस्था गर्न लागिपरेको उनले बताए ।
उद्योगको विकास गर्ने, उत्पादन बढाउने र निर्यात घटाउने स्पष्ट नीति सरकारको रहेको पनि उनले बताए ।
