काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाेखरेलले शिक्षामा उल्लेख्य बजेट बिनियोजन नभएको स्वीकारेका छन् ।
आज बसेकाे राष्ट्रियसभा बैठकमा सांसद्हरुले उठाएकाे प्रश्नहरुकाे जवाफ दिँदै मन्त्री पाेखरेलले भने, 'प्रस्ताबित बजेट नेपाल सरकारले यसअघि प्रतिबद्धता जनाएअनुुरुप हुन नसकेको सत्य हो ।'
भूकम्पबाट सिर्जित समस्या, शासन प्रणालीको पुनःसंरचना लगायतका विषय तत्कालका लागि प्राथमिकताका क्षेत्रमा रहेकाले शिक्षामा कम बजेट गएकाे मन्त्री पाेखरेलको भनाइ थियो ।
विगतको तुलनामा शिक्षामा लगानी वृद्धि गर्ने प्रयास भइरहेको पनि उनले बताए ।
'मुलुकको संघीय संरचनाअनुरुप प्रारम्भिक बाल शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका विषय समेटेर संविधानबमाेजिम संघ, प्रदेश र स्थानीय निकायलाई जिम्मेवारी किटान गरिने छ', उनले भने, 'यसैअनुरूप राष्ट्रिय शिक्षा नीतिको मस्यौदा तयार भएर मन्त्रिपरिषद्को समाजिक समितिमा छलफल चलिरहेको छ ।'
शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा ल्याइसकिएको उनले बताए ।
शिक्षक व्यवस्थानको बारेमा बोल्दै मन्त्री पाेखरेलले भने, 'शिक्षक व्यवस्थानका लागि विद्यार्थीबाट शुल्क लिनु नपरोस् भनेर शिक्षक व्यवस्थाका लागि शिक्षण सहयोग अनुदान र शिक्षक स्वयंसेवकको व्यवस्था गरिएको छ ।'
बाल विकास केन्द्रमा अध्यापन गराउने सहयोगी कार्यकर्ताको पारिश्रमिक न्यून रहेको भन्दै समयसापेक्ष बनाउँदै पारिश्रमिक वृद्धि गर्न मन्त्रालय दृढ रहेको उनले बताए ।
