काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले वैदेशिक सम्बन्धमा पनि विस्तार गर्नु आवश्यक रहेको बताएका छन् ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा वैदेशिक लगानीका लागि पनि लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताए ।
सरकारको समग्र ध्यान विकासमा केन्द्रित रहेको भन्दै उनले विदेशी लगानी आवश्यक रहेको बताए । ‘हाम्रो मात्र रिसोर्सले पुगेन, अब हामी तपाईंलाई अनुदान मात्र दिनुस् भन्दैनौँ । लगानी गरिदिनुस्, नाफा कमाउनुस्’, उनले भने, ‘हामीलाई रोजगारी दिनुस् । कर र रोयल्टी तिर्नुस् ।’
हामी पिँजडाभित्र थुनिएर बढीमा दुई छिमेकीमा मात्र सीमित हुने ? प्रश्न गर्दै उनले भने, ‘हामीले पखेटा फैलाएर अघि बढ्नै छ ।’
उनले नेपाललाई सधैँ लेबर माइग्रेसनको देश मात्र हो भन्ने परिचयबाट माथि उठाउनु आवश्यक रहेको बताए । उनले भने, ‘हामीले नेपाल त्योभन्दा बढी केही हो भनेर देखाउनु पनि आवश्यक छ ।’
यसैगरी उनले नेपाल–भारत सीमास्तम्भ पुनःनिर्माणको काम भइरहेको बताए । उनले भने, ‘नेपाल–भारत एक हजार आठ सय ८० किलोमिटर सीमालाई स्पष्ट पार्ने, सीमास्तम्भलाई मर्मत र सुधार गर्ने, विवाद रहेका ठाउँमा विवाद सल्टाउने प्रयास निरन्तर जारी छ ।’
सन् २०१४ देखि यो काम अघि बढिरहेको भन्दै उनले भने, ‘आठ हजार पाँच सय ५७ पिलरमध्ये झन्डै आधा नयाँ निर्माण भएर काम अघि बढेको छ । बाँकी पनि निरन्तर अघि बढाइरहेका छौँ ।’
भारत आवतजावत गर्ने नागरिकलाई बेलाबखत भारतीय सुरक्षाकर्मीबाट पर्ने समस्याबारे निरन्तर सम्पर्कमार्फत् समाधान गर्दै आएको उनले जानकारी गराए । त्यस विषयलाई समाधान गर्ने दायित्व नेपाल र भारत दुवै देशको भएको उनको भनाइ थियो । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ हुुँदै गएको दाबी गर्दै उनले भने, ‘नेपाल जस्तो देश जो लामो समय संक्रमणमा थियो, अलमलमा थियो । नेपालको पहिचान केबल रेमिटेन्समा बाँचेको, नौ नौ महिनामा सरकार फेरिने र आर्थिक विकास कहिल्यै प्राथमिकतामा नपरेको देश थियो, अब त्यो फरिएको छ ।’
प्रधानमन्त्री र मन्त्रीका भ्रमणबारे बोल्दै उनले यस्ता भ्रमणले सम्बन्धलाई उच्च स्तरबाट सुदृढ गर्न मद्दत गर्ने बताए । ‘पर्यटनका लागि विदेश जाने होइन । नेपालले यति ठूलो परिवर्तन गर्यो । राजतन्त्र थियो, गणतन्त्र आयो । एकात्मक थियौँ, संघीयतामा गयौँ । हिजो द्वन्द्व थियो, आज शान्ति कायम भएको छ’, उनले भने, ‘हिजो समावेशी थिएन, आज ४१ प्रतिशत महिला समावेशीसहितको लोकतन्त्र छ । हाम्रो खुसीमा खुसियाली बाँड्नुस् भन्नु पर्दैन ?’
