काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकारले विभिन्न हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउने बताएका छन् ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत सांसदहरुले उठाएका गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले भने – ‘निर्मला पन्त लगायतको हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको छ’ ।
एनले समग्र शान्ति सुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने पनि बताए ।
सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा बढाउने व्यवस्था गरिएको उनले जानकारी दिए । गृहमन्त्री थापाले कैदीबन्दीलाई तालीम प्रदान गरी काममा लगाउन बजेट विनियोजन भएको बताए । गृहमन्त्री थापाले तस्करी लगायत सङ्गठित अपराधविरुद्ध ठूलो सफलतामा हासिल भएको तथा तस्करी र सङ्गठित अपराध घटाउने विषयमा काम भइरहेको बताए ।
उनले गृहप्रशासन र सुरक्षा निकायमा लामो समयदेखि रोकिएको वृत्ति विकास पुनः सञ्चालन गरिने बताए ।
उनले स्थानीय सरकारको नेतृत्वमा लागूऔषध रोकथाम र पुनःस्थापना अभियान सञ्चालन गरी हिंसारहित समाज बनाउने अभियान शुरु गरिएको बताए ।
उनले सीमा नाकामा भएका गतिविधिमा निगरानी गर्न क्यामेरा जडान गरिने जानकारी दिए ।
उनले नेपालको संविधान, कानून र देशको मार्गचित्रलाई व्यवस्थित गर्न सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण दुई वर्षभित्रसम्म सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।
