काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले मन्द गतिमा विष खुवाएर जनताको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा ढ्यापढ्यापे समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले मन्द गतिमा विष खुवाएर जनसंख्या घटाउन लागेको आरोप लगाइन् ।
सांसद भुसालले विषादी परीक्षणतर्फ लक्षित गर्दै तीन करोडभन्दा कम जनसंख्या पनि सरकारलाई बढी भएको बताइन् । ‘विषादीयुक्त तरकारी र फलफूल आयात गरेर त्यो खान किन बाध्य पार्दैछ सरकार ? मन्द गतिमा विष खुवाएर सरकार जनसंख्या घटाउनतिर किन लाग्यो ?’ भुसालले प्रश्न गरिन् ।
सम्बन्धित मन्त्रालयले यसको जवाफ दिनुपर्ने भन्दै उनले जवाफ चित्तबुझ्दो नआए संसद् चल्न नदिने चेतावनी दिइन् ।
उनले विदेश नियोगबाट आएको पत्र प्रधानमन्त्रीलाई थाहा हुदैन भन्नु गलत भएको पनि बताइन् । ‘प्रधानमन्त्रीले झुट बोल्न मिल्छ? कसको पत्र, कहाँवाट भनेर प्रश्न गर्न मिल्छ?’ उनले भनिन् ।
त्यसैगरी उनले वर्तमान सरकार संविधान कार्यन्वयनमा गम्भीर नभएको आरोप लगाइन् । सांसद भुसालले संविधानले राज्यलाई बाँधेको र शान्ति सुरक्षा जनतालाई दिनुपर्छ भनेर संविधानमै लेखिएको तर, सरकारले सर्लाहीमा नेता कुमार पौडेललाई पक्राउ गरेर हत्या गरेको आरोप लगाइन् ।
उनले पौडेललाई पक्राउ गरेपछि सरकारले निहत्था उनलाई हत्या गरेको आरोप लागाइन् । ‘हात खुट्टा गरेर गोली प्रहार गरेको छ । संविधानले यस्तो अधिकार सरकारलाई दिएको छ ? उनले प्रश्न गरिन्’ । उनले आफूहरुलाई यसको जवाफ चाहिएको पनि बताइन् । उनले सरकारले मानवअधिकारको धज्जी उडाएको पनि आरोप लगाइन् । उनले प्रमुख प्रतिपक्षी दलले उक्त घटनाको घोर विरोध गरेको पनि बताइन् ।
उनले संविधानलाई वेवास्ता गर्न यो सरकार नबनेको बताइन् । ‘संविधानभन्दा माथि गएर यो सरकारले शान्ति सुरक्षा भंग गर्न पाउँदैन, जब सरकारले नै संविधान मान्दैन यो समाजमा रहेका अपराधीहरु न सरकारसँग डराउँछन्, न कानुनसँग’, भुसालले भनिन् ।
उनले कांग्रेस संविधान र कानुनप्रति संवेदनशील रहेको दाबी गरिन् ।
