काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जनताको जीउधनको सुरक्षा गर्ने क्रममा प्रहरीले फायरिङ गर्दा कुमार पौडेलको निधन भएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदले उठाएका प्रश्नको जवाफ दिदै उनले भने– ‘सर्लाहीमा विप्लव समूहले आतंक मच्चाइरहेको थियो । चन्दा आतंक, जनप्रतिनिधिलाई धम्की दिएको थियो । शान्ति सुव्यवस्था होस्, जनताको जीउधनको रक्षा होस् भन्ने जनप्रतिनिधिको मागअनुसार नै राज्यले कदम उठाएको हो,’ ।
पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो । आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सर्लाही घटनाबारे छानविन गर्न माग गरिन् ।
गृहमन्त्री थापाले राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको निधन दोहोरो भिडन्तमा भएको रिपोर्ट बुझाएको बताए ।
गस्तीमा रहेको प्रहरी टोली र विप्लवका कार्यकर्ताको जम्काभेट भएको र त्यसक्रममा पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको छानविन समितिको रिपोर्टमा उल्लेख रहेको उनले बताए ।
गृहमन्त्री थापाले पौडेलले पनि मिस फायरिङ गरेको र प्रहरीले जवाफी कारबाही गर्दा उनको निधन भएको बताए ।
तर, सांसदहरुले पौडेलको हात भाच्चिएको भन्दै त्यस्तो हातले कसरी गोली चलायो भन्ने प्रश्न गरे । जवाफमा गृहमन्त्री थापाले त्यसबारे बोलेनन् ।
बरु शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना भएको बताए । उनले भने, ‘यी घटनाहरु देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा र लोकतन्त्रको रक्षा गर्ने क्रममा घटना भएका हुन् ।’
गृहमन्त्री थापाले विप्लव समूहका सर्लाही ईञ्चार्ज पौडेलको निधन भएको घटना छानबिनका लागि संसदले संसदीय समिति गठन गर्न सक्ने पनि बताए । ‘संसदीय समिति बनाउने सदनको अधिकारको कुरा हो, सरकार त्यसको विरोधमा छैन, सदनले आवश्यक ठानेमा संसदीय समिति गठन गर्न सक्छ ।’
गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेसका प्रमुख सचेतक बालृकष्ण खाँडले लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भन्नु आपत्तिजनक भएको बताए ।
५ असारमा सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको निधन भएको थियो ।
सरकारले मुठभेडका क्रममा पौडेलको निधन भएको दाबी गरिरहेको छ । तर, प्रतिपक्षी कांग्रेसले भने नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाउँदै आएको छ ।
सर्लाहीमा पौडैल सहित छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएकोमा प्रतिपक्षी कांग्रेस र राजपाले गृहमन्त्रीको धारणा मागेका थिए ।
यी घटनाको छानबिनका लागि समिति गठन भएको गृहमन्त्रीले बताए ।
प्रहरीको ’इन्काउन्टर’मा सर्लाहीका कुमार पौडेल मारिएको घटना, राजमार्गमा प्रहरीले गोली चलाएका कारण ज्यान गुमाएका सरोजनारायण सिंह र सर्लाहीको ईश्वरपुर नगरपालिका–१६ श्रीनगरस्थीत बाँके खोलामा जमेको पानीमा डुबेर निधन भएका ११ वर्षीय अमित रायको विषय संसदमा केही दिनदेखि उठिरहेको छ ।
प्रतिनिधिसभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सर्लाहीका दुई घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो भएको भन्दै कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै सुरुमा १५ मिनेट बैठक स्थगित गराएको थियो । पुन बैठक बसे पनि कांग्रेस सांसदहरुले चल्न दिएनन् । कांग्रेसको अवरोधलाई राजपाले पनि साथ दिएको थियो ।
उनीहरुले छानबिन समिति गठन गर्नुपर्ने नारा लगाएका थिए ।
त्यसपछि बैठक बुधबार १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित भएको हो ।
