काठमाडौं । अर्थमन्त्री डा खतिवडाले माध्यमिक शिक्षालाई निःशुल्क नै गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।
राष्ट्रिसभाको बैठकमा सांसद जितेन्द्रनारायण देवले उठाएको प्रश्नको जवाफ दिदै उनले उच्च शिक्षा लिन विदेश जानै पर्ने भन्ने मान्यतालाई कम गर्नुपर्ने बताए । ‘देशभित्रै अन्तर्राष्ट्रियस्तरका अध्ययन हुने र त्यस्ता विषय पढाउने विश्वविद्यालय र क्याम्पस रहेकाले विदेश जानैपर्ने अवस्था क्रमशः अन्त्य हुन्छ ।’ खतिवडाले भने ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले मात्रै वार्षिक रु ४५ अर्ब खर्च भइरहेको तथ्याङ्क पेश गर्दै अर्थमन्त्रीले भुक्तानी सन्तुलनमा नै प्रभाव पार्ने गरी विदेशी मुद्रा विदेसिँदा त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने बताए ।
अर्थमन्त्री खतिवडाले निर्यात अनुदान दिएर आर्जन गरेको विदेशी मुद्रा विदेशिन नदिन केही न केही गर्नैपर्ने अवस्था आएको बताए । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका अभिभावकले कर तिरेको प्रमाणको समेत व्यवस्था गर्न लागिएको जानकारी दिए ।
सांसद जितेन्द्रनारायण देवले विदेशमा पढ्न जाने विद्यार्थीलाई दुई प्रतिशत शुल्क किन लिन खोजिएको भन्ने प्रश्न गरेका थिए ।
यसैबीच राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७६ सँग आश्रित तीनवटा विधेयक बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६’ लाई पारित गरेको हो ।
यी तीन विधेयक पारित भएसँगै राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । राष्ट्रियसभाले सोमबार विनियोजन विधेयक, २०७६ पारित गरेको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही आगामी साउन ३ गते दिउँसो १ बजे बस्नेछ ।
