काठमाडौं । असाध्यै अनौठो र रहस्यमय तरिकाले नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभा वैठक अवरुद्ध गरेका छन् ।
धेरैलाई लागेको थियो– विषादी प्रकरणको कुरा उठाएर कांग्रेसले सदन अवरुद्ध गर्न सक्छ । तर, विप्लव समूहलाई उकास्ने र खुसी पार्ने ढंगले कांग्रेसले प्रतिनिधिसभा वैठक अवरुद्ध गरेको छ ।
विषादी प्रकरणमा सदन अवरुद्ध गर्दा वाणिज्य मन्त्री मातृकाप्रसाद यादव र कृषि मन्त्री चक्रपाणी खनालसँग स्पष्टिकरण माग गर्नुपर्ने हुन्छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग सम्वद्ध हुन् दुवै मन्त्री ।
कांग्रेसले विप्लव समूहका नेता कुमार पौडेल सर्लाहीमा मारिएको विषयलाई अगाडि सारेर सदन अवरुद्ध गर्दै गृहमन्त्री रामबहादुर थापालाई प्रहार गरेको छ । यसबाट कांग्रेसले दुईटा काम प्रष्टसँग गरेको छ । पहिलो हो– गृहमन्त्री थापालाई हटाउने प्रयत्नमा लाग्दै आएका प्रचण्डको योजनालाई सघाउनु । दोस्रो हो– विप्लव समूहलाई उकास्नु ।
सदन अवरुद्ध गर्न कांग्रेसले जुन मुद्दा उठाएको छ, त्यो दुईधारे तरवार जस्तो देखिन्छ । कांग्रेसले यो अवरोध आफ्नो राजनीतिक जमिन बलियो बनाउन गरेको हो कि प्रचण्डलाई खुसी पार्न हो भन्ने प्रश्न उठेको छ ।
सदन अवरोधमा राजपाले चाहिँ सर्लाहीमा एक ठेकेदारले माटो बालुवा झिक्दा बनाएको पोखरीमा डुबेर बालकको मृत्युको विषयलाई लिएर सदन अवरुद्ध गरेको हो । विभिन्न घटना दुर्घटनामा मानिसको मृत्यु हुन्छ । सबै मृत्यु दुखदायी र समाजको आत्मा रुवाउने खालको हुन्छ । इश्वरपुरमा १२ वर्षिय अमित रायको डुबेर मृत्यु भयो तर राजपाका नेता राजकिशोर यादवले सदनमा ‘माफियाको षडयन्त्रले मृत्यु भएको’ भनिदिए । यही बहानामा सदन अवरोधको घोषणा गरे ।
तरकारीमा विषादी प्रकरणमा प्रतिनिधि सभामा कृषि मन्त्री चक्रपाणीले र राष्ट्रिय सभामा मातृकाले जवाफ दिएपछि कांग्रेस चुप लागेर बस्यो । तर, सर्लाही प्रकरणमा गृहमन्त्री रामबहादुरले जवाफ दिएपछि चाहिँ ‘चित्त बुझेन’ भन्दै कांग्रेसले अवरोध गर्नुले रहस्य झन गहिरिएको छ ।
राजपा र कांग्रेस मिलेर सदन अवरुद्ध गर्नुको मूल कारण सत्तापक्ष भित्रको प्रतिपक्षलाई सघाउनु हो भन्ने देखिएको छ । यसबाहेक अर्काे कारण पनि देखिएको छ– बजेट पारित हुन नदिने ।
प्रतिनिधिसभाबाट पारित बजेट राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाबाट बजेट पारित भएको सूचना प्रतिनिधिसभामा प्रस्तुत भएपछि वार्षिक बजेट वैधानिक रुपमा पारित हुन्छ ।
बुधबार प्रतिनिधिसभा वैठक डाकिएको छ । बुधबार पनि सदन अवरुद्ध गरेर सत्तापक्षलाई जबर्जस्ती सूचना टेबल गर्न लगाउने अवस्थामा पुराउन कांग्रेसले प्रयत्न गर्ने बुझिन्छ । कांग्रेसका सांसदहरुका अनुसार बुधबार राष्ट्रिय सभामा अर्थ विधेयक पारित भएको सूचना टेबल गर्न दिइने छैन ।
कांग्रेसले सर्लाहीमा भएका घटना सम्बन्धमा संसदीय छानविन समिति गठन गर्न माग गरेर परिस्थितिलाई उल्झनपूर्ण बनाउन चाहेको प्रष्टै देखिएको छ ।
यसै बीच सभामुख कृष्णबहादुर महराले मंगलबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।
