काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो पीडितलाई तत्काल राहत र उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले बाढीपहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारका लागि तत्काल उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
पीडितको उद्दार उचित किसिमले गर्न, विस्थापितलाई यथाशिघ्र पुर्नस्थापना गर्न तथा माहामारी फैलन नदिन सम्बन्धित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन पनि समितिले निर्देशन दिएको छ ।
त्यसैगरी समितिले बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरो प्रभावितको उद्धार तथा राहत कार्य तीव्र रुपले भईरहेको बताए ।
उनले राहतका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय भइरहेको बताए ।
प्रभावितहरुको उद्धारको लागि तीनवटै सुरक्षा निकाय परिचालन भएको तथा हवाई, स्थल र जल मार्गबाट उद्धारको जारी रहेको बताए ।
उनले प्रभावित र थप खतरामा रहेको क्षेत्रमा पूर्वसूचना प्रणाली सक्रिय बनाइएको, सामाजिक सञ्जाल र एसएमएसबाट जोखिमबारे जानकारी गराउने काम भइरहेको बताए ।
उनले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक सामाग्री पठाईसकिएको जानकारी समेत दिए ।
उनले बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउँनेको संख्या हाल सम्म ४५ जना पुगेको जानकारी समितिलाई गराएका थिए । गृहमन्त्री थापाले घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको पनि बताए ।
तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढी प्रभावित भएका छन् ।
