काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जामन्त्री र भौतिक पूर्वाधारमन्त्री वर्षमान पुन र यातायात मन्त्री रघुवीर महासेठले सांसद्हरुको मौखिक प्रश्नको उत्तर दिने भएका छन् ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विललप्रसाद श्रीवास्तवले सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने छन् ।
यस्तै, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रशासकीय अदालत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने छन् ।
त्यसैगरी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूउपयोग विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
