काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक नाै दिनपछि साउन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएकाे छ ।
बाढीपहिरोका कारण बैठक स्थगित गरिएको भनिए पनि कसले पहिले बाेल्ने विषयमा कुरा नमिल्दा स्थगित भएको प्रतिनिधिसभाका एक सदस्यले सनराइज खबरलाई बताए ।
प्रतिनिधिसभा बैठकमा पहिले आफूले बोल्न पाउनुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान लिएपछि बैठक स्थगित भएको उनले बताए ।
उनले भने, 'प्रमुख प्रतिपक्षले पहिले बोल्ने कि सत्तापक्षले पहिले बोल्ने भन्ने विषयमा कुरा नमिल्दा बैठक स्थगित भएको हो ।'
तर संसद् सचिवालयले टाँस गरेको सूचनामा भनिएको छ, 'आज मिति २०७६ साल असार ३० गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्याउन, बेपत्ता परिवारको खोजी, उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमनसमेत गर्न माननीय सदस्यहरुलाई आआफ्नो क्षेत्र जिल्लामा जान समय दिनुपर्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल साउन ८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'
