काठमाडौं । कसले दर्ता गरेको प्रस्तावउपर पहिले छलफल हुने भन्ने विवादले अवरुद्ध बनेको प्रतिनिधि सभा बैठक आजबाट चालु हुने भएको छ ।
बाढी पहिरो सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसद्ले सदनमा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । कसको प्रस्तावमा पहिले छलफल हुने भनी विवाद भएपछि बैठक नै बस्न सकेको थिएन । त्यसपछि सभामुखले सूचना टास गरी बैठक सात दिनका लागि स्थगित गरेका थिए ।
सभामुख कृष्णबहादुर महराको पहलमा सत्तापक्ष र प्रतिपक्षका नेताहरुले छलफल गरी सहमति खोजेका छन् ।
सहमतिको मोडल सार्वजनिक भएको छैन ।
राष्ट्रिय सभाको दवाब
प्रतिनिधिसभा बैठकमा गतिरोध भएपछि राष्ट्रिय सभामा पनि त्यस्तै अवस्था आउन लागेको थियो । तर, राष्ट्रिय सभाका सदस्यहरुले सहमति गरेर संयुक्त प्रस्ताव लगेका थिए । सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले बाढी पहिरो सम्बन्धमा संयुक्त रुपमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका थिए । प्रस्ताव उपर छलफल गरी राष्ट्रिय सभाले सर्वसम्मत रुपमा सरकारलाई निर्देशन समेत दिएको थियो ।
निक्कै उदाहरणीय मानिएको राष्ट्रिय सभाको सहमतीय कार्यले त्यस्तै सहमति गर्न प्रतिनिधि सभालाई पनि दवाब परेको थियो ।
अन्ततः प्रतिनिधि सभामा पनि सहमति भएको हो ।
बाढी पहिरो जस्तो साझा समस्यामा समेत प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका थिए । यसले प्रतिनिधि सभाको अपरिपक्वताको सन्देश प्रवाह भएको थियो ।
बुधबार बिहानसम्म पनि सत्तापक्ष र प्रतिपक्ष बीच सहमति हुन सकेको थिएन । बैठक सुरु हुन लाग्दा सहमति भएपछि प्रतिनिधि सभाको लाज ढाकिएको हो ।
