काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलको टोली नेपाल आएर नेताहरुसँग भेटेको बारेमा राष्ट्रिय सभाको आजको बैठकमा बसैले प्रश्न उठाएनन् ।
आजको बैठकमा सांसदहरुले ‘रअ’को विषयमा कुरा उठाउने अपेक्षा गरिएको थियो ।
बैठक सुरु हुनासाथ सुरु भएको शून्य समय कांग्रेसकी अनिता देवकोटाले बाढी पहिरो सम्बन्धमा बोलिन् । नेकपाकी उदया शर्मा पौडेलले राष्ट्रिय महिला आयोगको विषयमा बोलिन् । दुवैले रअका प्रमुख नेपाल आएर नेताहरुसँग भेटेको विषयमा बोलेनन् ।
नेकपाकी कमलाकुमारी ओलीले बजेट विनियोजन र सदुपयोगको बारेमा बोल्दै संघका सांसदलाई बाइपास गरेर स्थानीय जनप्रतिनिधिले गलत काम गरेको बताइन् ।
नेकपाका खिमकुमार विश्वकर्माले लोकसेवा आयोगको विज्ञापन सम्बन्धमा बोले । उनले सरकार र उत्पीडित समुदायबीच दरार पैदा भएको दावी गरे ।
कमला र खिमकुमार दुवैले रअका प्रमुख आएको सम्बन्धमा केही पनि उच्चारण गरेनन् ।
शून्य समयपछि भएको विशेष समयमा पनि सांसदहरुले रअका प्रमुख आएको ज्वलन्त विषयमा बोलेनन् । शून्य समयमा सांसदहरुले बोल्न एक मिनेट समय पाउँछन् भने विशेष समयमा लामो समय बोल्न पाउँछन् ।
विशेष समयमा नेकपाकी दीलकुमारी रावल थापा (पार्वती) बोलिन् । उनी बाढी पहिरोको विषयमै केन्द्रीत भइन्, रअको बारेमा केही पनि बोलिनन् ।
नेकपाकै चक्रप्रसाद स्नेहीले शिक्षा क्षेत्रका बारे बोले । कांग्रेसकी तारादेवी भट्टले कञ्चनपुरको जग्गा समस्यामा बोलिन् । विगतमा सञ्चारकर्मी समेत रहेकी कोमल वलीले पनि बोलिन्, उनले पनि बाढी पहिरोकै विषयमा बोलिन् । तर, रअका बारे केही बोलिनन् ।
नेकपाकी मिना बुढाले पनि बाढी पहिरो बारेमै बोलिन् । त्यसपछि नेपाली कांग्रेसका जितेन्द्र देव बोले, उनले पनि उही विषयमा बोले, अर्थात् बाढीपहिरो । रअको उच्चारण कसैले गरेनन् ।
नेकपाकै सुमनराज प्याकुरेलले पनि बाढी पहिरोबारे नै बोले । कांग्रेसकी मुक्ताकुमारी यादवले पनि बोलिन् । विषय उही हो– बाढी पहिरो ।
नेकपाका रामनारायण विडारीले आज फरक विषयमा बोल्छु भन्दै बोल्न सुरु गरे । उनले रअका बारे बोल्छन् भन्ने ठानिएको थियो, तर, युवाको विदेश पलायन तथा लागू औषध दुब्र्यसन लगायतका विषयमा बोले । आँटिला र खरा भनी कहलिएका रामनारायणले पनि रअका बारेमा बोलेनन् ।
रअका विषयमा राष्ट्रिय सभामा कसैले कुनै कुरा उठाएनन् ।
