काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपद्सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।
कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सो प्रस्ताव पेस गर्दै देशमा बाढी र पहिरोको विपत्ति परेका बेला सत्ता र प्रतिपक्षी सबै एकजुट हुनुपर्ने बताए ।
उनले बाढी, पहिरो र डुबान पीडितलाई राहत, उद्धार तथा पुनःस्थापनका लागि राष्ट्रिय सहमति जुटाउन संसदमा सो प्रस्ताव पेस गर्नुपरेको बताए । ‘आज मुलुकमा संकट पर्दा, विपद् पर्दा सबै एकजुट हुने संस्कृतिलाई उभ्याएका छौं, एकताबद्ध भएर छलफल गर्न बसेका छौं’, रिजालले भने ।
उनले जनतालाई राहत, उद्धार र पुनस्थापनाको उचित व्यवस्था गर्न सरकार र प्रतिपक्ष दलहरुले मिलेर काम गर्नुपर्ने बताए ।
सांसद रिजालले केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई काम गर्न बाटो बन्ने विश्वासका साथ प्रस्ताव दर्ता गरेको पनि बताए ।
देशमा परेको विपद्का लागि संसदमा रहेका दलहरु एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ भन्ने मान्यताबाट आफूहरुले संसदमा हिजोको परिस्थितिलाई बिर्सेर विपत्तिका लागि एकजुट हुनुपर्ने प्रस्ताव गरेको बताए ।
विपद्का बेला सरकार एक्लैले काम गर्न नसक्ने भन्दै उनले तीनै तहको सरकारको साथ लिएर काम गर्न सुझाव दिए ।
अहिले बाढी पहिरोबाट लाखौँ मानिस बाढी पहिरोबाट पीडित भएको बेलामा उनले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जनताको पीडालाई सम्बोधन गर्नुपर्ने बताए ।
उनले अहिले पनि के विपत्ति आउँछ भन्ने कसैलाई थाहा नभएको बताए । उनले हिजो मात्र गुल्मीको सत्यवतीमा पहिरोबाट भएको क्षतिको स्मरण समेत गराए ।
यस्तो बेलामा सरकारले प्रभावकारी काम गर्नुपर्ने भन्दै उनले सरकार एक्लैले नसक्ने कुरालाई ध्यानमा राखेर यसअघि जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्ने भनेको बताए ।
यो वर्ष अझै पनि विपत्ति नटरेको भन्दै उनले सरकार सचेत हुनुपर्ने बताए । नेपालको भू–बनोटका कारण पहाडबाट बगेको पानीले तराईमा हरेक वर्ष वर्षायाममा डुबान हुने गरेको बताए ।
उनले नदी नियन्त्रणको काम नगरे यो समस्या दोहोरिरहने बताए । 'अहिले पनि नागरिक राहत पर्खेर बसेका छन् । यो टिप्पणी र आलोचनाको विषय होइन', उनले भने, ‘हामीले नदी नियन्त्रण गर्न सकेनौं भने लामो समयसम्म यो विपत्ति ब्यहोर्नुपर्छ । विपत्तिबाट कुनै नागरिक अछुतो रहने अवस्था छैन । यो विषयमा संसदमा छलफल गर्न आवश्यक छ ।’
उनले सरकारलाई ढंग पुर्याएर काम गर्न पनि सुझाव दिए । ‘अब सरकारले ढंग पुर्याएर काम गरोस्, राहत खोज्ने जनतालाई माथि उड्ने हेलिकप्टर जस्तो रुपमा सरकार नपुगोस् तल जनतासम्म पुगेर जनताको राहत र उद्धार गर्ने जस्तो सरकार बनोस् भनेर हामी अभिप्रेरित गर्छौँ’, रिजालले भने ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काममात्र गरेको आरोप लगाए । दुई तिहाई बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी रुपमा रोकथाम गर्न नसकेको आरोप लगाए ।
नेता रिजालले पेस गरेको सो प्रस्तावको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजकिशोर यादवले समर्थन गरेका छन् ।
सो प्रस्तावमा छलफलका लागि २ घण्टा समय तोकिएको छ ।
गत असार अन्तिम साता लगातार परेको वर्षापछि आएको बाढी पहिरो र डुृबानले देशका विभिन्न स्थानमा करिब एक सय जनाको ज्यान लिएको थियो । अर्बौको भौतिक क्षति पनि भएको गृह मन्त्रालयले जनाएको छ ।
