काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बाढी र डुबान समस्याको स्थायी समाधानका लागि कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् ।
भारतले नेपाललाई दोष दिने अनि नेपालले भारतलाई दोष दिने गरेर केही नहुने भन्दै नेता देउवाले यसका लागि भरतसँग कूटनीतिक तवरले कुरा गर्नुपर्ने बताएका हुन् । बुधबार प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
‘भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने । कति दिनसम्म चल्छ यो ?’ सभापति देउवाले भने, ‘त्यसकारण चैं कूटनीतिक तवरबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ ।’
कसैले कसैलाई गाली गरेर समाधान हुने समस्या नभएको भन्दै यसलाई यत्तिकै छोडिए झन् भयावह हुने उनले बताए ।
कोसी ब्यारेज बनेकै बेलादेखि ब्यारेजको पूर्वतिर केही स्थानीयले स–साना पसल थापेर गुजारा गर्दै आएकामा भारतीय पक्षले अहिले हटाएकोप्रति पनि भारतसँग कुरा गर्नुपर्ने उनले बताए ।
सुरुदेखि नै त्यहाँ व्यापार गर्दै आएका स्थानीयलाई भारतीय पक्षले सुरक्षाको कारण भन्दै त्यहाँबाट हटाएको थियो । यसप्रति प्रश्न गर्दै देउवाले भने, ‘सुरक्षाका कारणले भारतले हट भनेको रहेछ । त्यहाँ बसेर व्यापार गर्दा भारतको सुरक्षामा कहाँ आँच पुग्यो ? यसबारेमा पनि भारतसँग कुरा गर्नुपर्छ ।’
त्यहाँ बसोबास गर्दै आएकाहरु नेपाली नै होइनन् जस्तो गरेर सरकारले मतलब नगरेको सभापति देउवाको आरोप थियो ।
यदि हाम्रो कारणले भारतको सुरक्षामा केही समस्या परेको भए नेपालले पनि त्यसमा भारतलाई आश्वस्त पार्न सक्नुपर्ने देउवाको भनाइ थियो ।
चुरे दोहन मात्रै बाढीको कारण नभएको देउवको भनाइ थियो । उनले चुरे दोहनले केही मात्रामा बाढी पहिरो आए पनि यसैलाई मात्रै कारण मान्नु नहुने बताएका हुन् ।
सभापति देउवाले बाढीले बगाएर ल्याएको लेदो र बालुवाका कारण चुरेका खोलाको सतह धेरै माथि आइसकेको बताए । कतिपय खोलामा बालुवा भरिएर पुलको सतहसम्मै आइसकेको भन्दै उनले १० वर्ष यही अवस्था रहने हो भने खोलाको बाटो नै परिवर्तन हुने बताए ।
त्यसका लागि पुललाई असर नगर्ने गरी त्यो माटो र बालुवा हटाउनुपर्ने उनको जोड थियो । तर, यो विषयमा सरकारले कुनै चासो नदिएकोमा उनले आक्रोश व्यक्त गरे ।
हेलिकोप्टरमा गएर जनताका पीडा बुझिन्छ ?
हेलिकोप्टरमा गएर जनताका पीडा नबुझिने भन्दै उनले बरु सर्वदलीय टोली पठाएर वास्तविक कारण र समाधानको उपाय खोज्न आग्रह गरे । यस्तो जनचासोको विषयमा राजनीति गर्न नहुने भन्दै दउवाले सरकारलाई आवश्यक ठोस कदम चाल्न आग्रह गरे ।
देउवाले आफै गएर रौतहट जिल्ला पूरै घुमेको भन्दै त्यहाँको अवस्था भयावह पाएको बताए । ‘सर्लाहीमा त जानै सकिएन । सिरहा सप्तरी र उदयपुरका केही भाग, सुनसरी जिल्ला भ्रमण गर्दा बाढीले भयानक अवस्था बनाएको छ ।’
अधिकांश परिवार घरबार विहीन भएर खाद्यान्न समेत सढेको अवस्थामा पाएको उनले जानकारी दिए । यस्तै कटानले पूरै जमिन खत्तम पारेको अवस्थामा पनि सरकारले कुनै वास्ता नगरेको उनको आरोप थियो ।
‘सरकारको पहिलो कर्तव्य खाद्यान्न, लत्ताकपडा र पाल दिने हो । त्यही काम पनि गरेको छैन’, उनले भने, ‘रेडक्रस, एनजीओ र आईएनजीओले केही दिएका छन् । त्यसबाहेक सरकारले गरेको केही पनि देखिनँ मैले ।’
जनकपुरमा कमलाले कटान गरेर धेरै ठूलो क्षति पुर्याएको उनले बताए । उनले भने, ‘तटबन्ध हेर्दा त बलियो थियो । त्यस्तो तटबन्ध भत्काउने गरी आएको बाढी कति भयानक थियो होला !’
सर्लाहीमा साना खोलामा आएको बाढीले पनि तहसनहस पारेको भन्दै उनले सप्तरीका पनि धेरै स्थानमा बाढीले नोक्सान पुर्याएको जनाए । सुनसरीको भारतीय बोर्डरसम्म पुग्दा आफूले झन् कहालीलाग्दो अवस्था देखेको भन्दै उनले त्यहाँ स्थानीय सरकारसमेत नपुगेकोमा आक्रोश व्यक्त गरे ।
