काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले बर्सेनि बाढी, डुबान र पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको भन्दै दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सदस्यहरूले प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि दीर्घकालीन समाधान हुने गरी आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए ।
बर्सेनि गर्मीमा आगलागी र वर्षायाममा बाढी, डुबान र पहिरोको समस्या भोग्नुपर्ने विषय नेपालीका लागि नियमित आकस्मिकता भएको भन्दै उनीहरूले समस्या सम्बोधनमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।
सांसद् जितेन्द्रनारायण देवले प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए । समस्यालाई सधँै राजनीतिकरण गरी पन्छाउने काम गरिएकाले मुलुक सधैँ प्राकृतिक विपद्को मारमा पर्र्दै आएको भन्दै उनले ‘समस्यालाई डाइभर्ट गर्ने प्रयासको राजनीतिकरण ’बन्द गर्न आग्रह गरे ।
उनले भने, ‘नेपालको राजनीतिमा जहिले पनि पानीमाथि पनि राजनीति, जंगलमाथि पनि राजनीति , हरेक चिजमा राजनीति भयो । समस्याको समाधान कहिलइै भएन । समस्या घरभित्र छ । तर हामी जहिले पनि त्यहाँ पर समस्या छ भनेर जहिले पनि डाइभर्ट गरिरहेका हुन्छौँ ।’
यस्तै, दिलकुमारी रावल (पार्वती)ले प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि पूर्वतयारी तथा पूर्वसूचना प्रणालीको व्यवस्था गर्दै जोखिममा रहेका बस्ती स्थानान्तरणको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोमा परी ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै उनले बर्सेनि प्राकृतिक विपद्का घटनाबाट हुने क्षति कम गर्नका लागि पूर्वसतर्कता अपनाउन जोड दिइन् ।
सुमनराज प्याकुरेलले वर्षासँगैको बाढी र पहिरोका कारण तराईका जिल्लामा ठूलो नोक्सानी पुर्याएको भन्दै बाढी, पहिरो र डुबानको समस्या सम्बोधनका लागि चुरे दोहन रोक्ने र अव्यवस्थित क्रसर उद्योग खोल्ने काममा रोक लगाउनुपर्नेमा जोड दिए ।
यसैगरी कोमल वलीले प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्नका लागि नीतिगत रुपमा नै आवश्यक व्यवस्था गर्न माग गरिन् ।
त्यसैगरी चक्रप्रसाद स्नेहीले प्लस टुलाई माध्यमिक शिक्षामा गाभिएसँगै माध्यमिक तहमा गाभिएका १८ हजार शिक्षकहरूको सेवा सुविधा र दरबन्दीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले २०४६ सालमा उच्च माध्यमिक शिक्षा ऐन ल्याएर शिक्षा परिषद्बाट १२ कक्षासम्मको व्यवस्था गरे पनि कार्यरत शिक्षकहरूको बारेमा आवश्यक प्रबन्ध गर्न नसक्दा समस्या भएको बताए ।
तारादेवी भट्टले कञ्चनपुर सुडा गाविसका सुन्दरपुरका स्थानीयको बसोबासको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । कञ्चनपुरको रौतेली बिचवा ३ हरैयाका स्थानीयलाई तात्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षको कार्यालयले आरक्ष विस्तार गर्ने भन्दै २०३८ सालमा सुडा गाविस सुन्दरपुरमा जग्गा उपलब्ध गराई जग्गाधनी प्रमाणपुर्जा दिएको भए पनि पछिल्लो समय सो लालपुर्जाको वैधानिकताको प्रश्न उठाएर बिचौलियाले दुःख दिने गरेको भन्दै उनले समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
त्यसैगरी रामनारायण बिँडारीले ठूलो संख्यामा युवाहरू लागुऔषध दुव्र्यसनमा फसेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । स्वदेशमा रहेका युवाहरू कुलतमा फस्ने र योग्य र क्षमता भएका युवाहरू वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गर्दै समयमै त्यसतर्फ विचार पुर्याउनुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी मुलुकका विभिन्न स्थानमा निर्माण गरिएका राजमार्ग तथा छोटा सडकहरूमा पैदलयात्रीका लागि छुट्टै पेटीको व्यवस्था नभएको भन्दै सडक निर्माण गर्दा साइकलयात्री र पैदलयात्रीका लागि पेटीको व्यवस्था गर्न पनि माग गरे ।
शून्य समयमा को–को बोले
राष्ट्रियसभा सदस्य अनिता देवकोटाले खेती लगाउने समयमा किसानहरूले आवश्यक मलखाद पाउन नसकेको भन्दै दाङमा मलखादको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
उदय शर्मा पौडेलले राष्ट्रिय महिला आयोगमा लामो समय पदाधिकारी रिक्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
खिमकुमार विश्वकर्माले लोकसेवा आयोगको विज्ञापन संविधानले व्यवस्था गरेअनुसारको समावेशी समानुपातिक हुन नसक्दा राज्य र उत्पीडित समुदायबीचको दूरी बढाएको भन्दै सकारात्मक सोचसहितको निकास खोज्न माग गरे ।
राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।
