काठमाडौं । सत्तापक्षका सांसदहरुबाट प्रतिपक्षी सांसदहरुले उदार बन्न सिक्नुपर्ने विचार शान्ता चौधरीले राखेकी छिन् । प्रतिनिधि सभाको आजको बैठकमा नेकपाकी सचेतक समेत रहेकी शान्ताले भनिन्– ‘हामी उदार नभएको भए यो छलफल हुँदैनथ्यो, तपाईंहरुले सदन अवरुद्ध गर्नुहुन्थ्यो ।’
बैठकमा नेपाली कांग्रेसको तर्फबाट बाढी पहिरो तथा प्राकृतिक प्रकोपका सम्बन्धमा राखिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै शान्ताले भनिन्– ‘यहाँ केहीले सत्तापक्षका सांसदबाट झुठ बोल्न सिक्नुपर्छ भन्नुभयो । तर, म भन्छु, सत्तापक्षका सांसदहरुबाट तपाईंहरुले उदार बन्न सिक्नुस् ।’
उनले राष्ट्रियसभाबाट प्रतिनिधिसभाले सिक्न नसकेको गुनासो पनि गरिन् । एकता र सहकार्य गरेकोमा राष्ट्रिय सभालाई उनले धन्यवाद समेत दिइन् ।
‘बाढी पहिरो तथा वर्षाको प्राकृतिक प्रकोप राजनीतिक विषय होइन । तर, हामीले राजनीतिक रंग दिएका छौं । यसले कसैलाई राम्रो गर्दैन’– उनले भनिन्– ‘बाढीपहिरोले धेरै जनता रोइरहेका छन् । रोइरहेका जनताको दुखेको घाउमा मल्हम लगाउनुको सट्टा हामीले एकअर्कालाई आरोप लगाउने काम गर्याैं । यसले कसैलाई राम्रो गर्दैन ।’
प्राकृतिक प्रकोपको विषयमा सदनमा एकढिक्का भएर संयुक्त प्रस्ताव आएको भए महत्वपूर्ण र सकारात्मक सन्देश जान्थ्यो भन्दै उनले प्राकृतिक प्रकोपको विषयमा सरकार गम्भीर बनेन, ध्यानदृष्टि पुगेन, सरकार गम्भीरतासाथ जनताबीच पुगेन भन्नु गलत हो भन्ने विचार राखिन् ।
उनले सोधिन्– ‘सरकार यति धेरै जनताको बीचमा पुगेको छ, सरकारले धेरै काम गरेको छ तैपनि किन ती काम देख्न सक्दैनौं ? किन सरकारले गरेको कामको विषयमा हामीलाई बोल्न गाह्रो भएको छ ?’
मन्त्रीहरुले हेलिकप्टर चढेको सम्बन्धमा प्रतिपक्षी सांसदहरुले गरेको टिप्पणीलाई जवाफ दिँदै उनले भनिन्– ‘सरकार आकाशबाट गयो, आकाशबाटै फर्कियो भनेर आरोप लगाउन कसरी मिल्छ ? यो सरकार जनताप्रति गैरजिम्मेवार बन्छ होला ? हिजो तपार्ईंहरु सरकारमा हुँदा त्यसरी गैरजिम्मेवार बन्नुभएको थियो ?’
शान्ताले भनिन्– ‘हिजो सरकारमा भएका बेला तपाईंका प्रधानमन्त्री र मन्त्रीहरु कहिल्यै हेलिकप्टर चढ्नुभएन ? सधै पैदल हिँड्नुभयो ? यस्तो आरोप पनि लाउन मिल्छ ?’
प्रतिपक्षी उपर कडा टिप्पणी गर्दै उनले भनिन्– ‘देश रोएको छ, जनता रोएको छ, दुखेको घाउमा मल्हम लगाउनुको सट्टा सरकारलाई आरोप लगायौं भने आफूहरु सफल बन्छौं भन्ने उद्देश्यसाथ अगाडि बढ्नुभएको छ भने त्यसले कसैको पनि हित गर्दैन ।’
शान्ताले प्रश्न गरिन्– ‘राष्ट्रिय सभाबाट हामी किन सिक्दैनौं ? हामी कस्तो नजीर बसाल्दैछौं ?’
