काठमाडौं । संसद्को चालु अधिवेशन अन्त्य गर्नेतर्फ सरकार लागेको छ । उच्च स्रोतका अनुसार अधिवेशन समाप्त गर्नेबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराबीच छलफल भएको छ ।
चालु अधिवेशनको मुख्य काम बजेट पारित गर्नु थियो । अधिवेशनले बजेट पारित गरिसकेको छ । केही विधेयकहरु पनि पारित गर्ने सरकारी प्रयास थियो । तर, प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध गर्ने भएको छ । त्यसैले अधिवेशन नै अन्त्य गर्नेतर्फ सरकारले विचार गरेको हो ।
‘बजेट पारित हुनासाथ अधिवेशन अन्त्य गरिनुपर्थ्येा’, संसद् सचिवालयका एक अनुभवी कर्मचारीले सनराइज खबरलाई सुनाए, ‘संसद्को बजेट अधिवेशन र विधेयक अधिवेशन हुन्छ । वर्षायाममा हुने यो बजेट अधिवेशन बजेट पारित गर्नासाथ अन्त्य गर्ने परम्परा छ । अहिले परम्परा विपरीत बिनाकारण अधिवेशन लम्ब्याइएको छ ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले भने बैठक अवरुद्ध भइरहेको बेला पारेर अधिवेशन अन्त्य गर्नु अनैतिक हुने धारणा राखेका छन् । सत्तापक्षका नेताहरुसँग प्रतिपक्षी कांग्रेसका सचेतकहरुले यस्तो धारणा राखेको बुझिन्छ ।
नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टीसँग सहकार्य गरेर प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ । नेपालका लागि पूर्वभारतीय राजदूत तथा भारतीय विदेश सचिव श्यामशरणले नेपाल आएर कांग्रेस र राजपाबीच गठबन्धन बनाइदिएका थिए । त्यसयता प्रतिनिधि सभा राम्रोसँग चल्न सकेको छैन । तीन दिनअघि कांग्रेसले ल्याएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा भने प्रतिनिधि सभा बैठक चलेको थियो । आफूले ल्याएको प्रस्तावमा बाहेक अन्य प्रस्तावमा छलफल हुन नदिने नीति कांग्रेसले लिएको छ ।
प्रतिनिधि सभाको बैठक अब सोमबार बस्दै छ । सोमबारको बैठक पनि अवरुद्ध गरिने भएको छ । सोमबार बैठक अवरुद्ध गर्ने राजपाका संयोजक राजकिशोर यादवले घोषणा गरेका हुन् ।
