काठमाडौं । राष्ट्रियसभा सदस्य प्रकाश पन्तले आपांगता भएका व्यक्तिहरुकाे सामाजिक सुरक्षको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिहरूको हक र अधिकारका लागि बनेको ऐन कार्यान्वयनमा आउन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अपांगता भएका व्यक्तिहरुका सम्बन्धमा दर्ता गरिएको ध्यानाकर्षण प्रस्तावमाथिको छलफलमा बोल्दै पन्तले भने, ‘पञ्चायतदेखि बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्र र संघीय प्रणालीसम्म आइपुग्दा अपांगतासम्बन्धी थुप्रै व्यवस्था परिवर्तन हुँदा पनि त्यसलाई न्याय हुने र विभेद नहुने गरी त्यसको कार्यान्वयन हुन सकेको छैन ।’
यससम्बन्धी धेरै कुरा संविधानमा समेटिए पनि अहिले आउने विधेयकमा अटाउन नसकेको उनको भनाइ थियो । ‘संविधान बन्ने क्रममा हामीले यो कुरा संविधानमा लेखिदिनुहोस् भनेर कराउँदा त्योभित्रका अधिकारका राम्रै कुराहरु पनि परेका छन्’, उनले भने, ‘तर पछाडि मौलिक हकका विधेयकलगायतका अरु थुप्रै विधेयक आउने क्रममा चाहिँ ती व्यवस्थालाई जस्ताको तस्तै ल्याउन सकिएन ।’
संविधानमा भएका कुराहरु ऐनमा आउँदा घटेर आउने र ऐनमा भएका कुरा नियमावलीमा आउँदा झनै घटेर आउने भन्दै उनले भने, ‘संविधानमा भएका कुरालाई पछि ऐनमा थप व्यवस्थित गर्ने, थप विस्तृतीकरण गर्ने र त्यसलाई सहज कार्यान्वयनका लागि थप नियमावली र कार्यविधि बनाएर जानुपर्छ ।
