काठमाडाै । आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । आजकाे बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी मौखिक प्रश्न सोधिने र तिनको उत्तर दिने कार्यक्रम छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सेफगार्ड, एन्टीडम्पिङ तथा काउन्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने छन् यस्तै, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पनि पेस गर्ने छन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रशासकीय अदालत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने छन् । राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठले प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूउपयोग विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
