काठमाडाैं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक प्रतिपक्षी दलकाे अवराेधका कारण स्थगित भएकाे छ ।
राजपाको सदन अवरुद्ध गर्ने कदमलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको छ । राजपाले सर्लाही घटनाको सम्बन्धमा छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवराेध गरेको हो ।
बैठक सुरु हुनासाथ प्रतिपक्षका सबै सदस्यहरु उठेर विरोध गरे । सभामुखले भने- बस्नुस् म बोल्ने समय दिन्छु । तर पनि प्रतिपक्षी सदस्यहरुले छानबिन समिति गठन गर, संसदीय सर्वोच्चता कायम गर, मानवअधिकार हनन गर्न पाइँदैन भन्दै नारा लगाउदै वेल घेराउ गरे ।
केही समय वेल घेराउ गरेर नारा लगाएपछि सभामुखले भने, ‘केही दिनदेखि सदन अवरुद्ध भएकाले जनताका विविध समसामायिक विषय यहाँ प्रस्तुत हुन पाएका छैनन् । त्यसैले म अनुरोध गर्छु । सदन सुचारु गरौँ । सबैले आफ्नो भनाइ राख्न पाउनुहुने छ । माननीय सदस्यहरु आसन ग्रहण गर्नुहोस् ।’
तर प्रतिपक्षको अवरोध रोकिएन बैठक चलाउने सभामुखकाे प्रयास सफल हुन सकेन । सभामुखको कुरा सुन्ने र छलफलबाट सहमति जुटाउने पक्षमा कोही पनि प्रतिपक्षी सांसद्हरु देखिएनन् ।
सभामुखले सदन र सरकारकाे ध्यानाकर्षण भएकाे र साे विषयमा बाेल्न समय दिने भन्दा पनि प्रतिपक्षी सांसद् बस्न मानेनन् । सभामुखले भने, 'माननीय सदस्यहरु थाक्नुभयो होला बस्नुस् । तपाईंहरुको विषयमा सदन र सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । छलफलबाट सहमति खोजौँ । आसन ग्रहण गरेर सहयोग गर्नुस् । अरू पनि महत्वपूर्ण विषयमा छलफल गर्न बाँकी छ ।'
अवरोध बन्द गरेर छलफलमा आउनुहोस् । म विशेष अनुरोध गर्छु भन्दै सभामुखले बारम्बार भनिरहँदा पनि अवरोध रोकिएन । संसदीय सर्वोच्चता कायम गर्न अवरोध हटाई दिनुस् । अनि सबै विषयमा छलफल भएर निकास निकालाैंला । त्यही नै संसदीय सर्वोच्चता हो भनेर सभामुखले भनिरहे । तर अवरोध हटेन ।
करिब ४० मिनेट लामो अवरोध नहटेपछि बैठक सञ्चालन हुन सकेन र सभामुखले अर्को बैठक साउन १५ गते बुधबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेको घोषणा गरे ।
अन्त्यमा सभामुखले भने, ‘माननीय सदस्यहरु धेरै दिनदेखि अवरुद्ध सदनको कतिपय महत्वपूर्ण एजेन्डालगायत माननीय सदस्यहरुको महत्वपूर्ण भनाइ सदनसमक्ष प्रस्तुत हुन सकिरहेका छैनन् । तसर्थ माननीय सदस्यहरुले याे यथार्थलाई मनन् गर्दै आगामी बैठक चालु गर्न सहयोग गर्नुहुने छ भन्ने कुरामा म विश्वस्त छु ।’
राजपाका संयोजक राजकिशोर यादवले आइतबार नै एक सात्क्षात्कार कार्यक्रममा बोल्दै सर्लाही घटनाको सम्बन्धमा छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने र त्यसो नभए आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने बताएका थिए ।
आजको प्रतिनिधिसभा बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफलकाे कार्यसुची थियाे । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी मौखिक प्रश्न सोधिने र तिनको उत्तर दिइने, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पनि पेस गर्ने कार्यक्रम थियाे ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रशासकीय अदालत विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने याेजना थियाे । राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठले प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची थियाे ।
त्यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूउपयोग विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएकाे थियाे ।
यसअघि गत साउन ८ गते बसेको प्रतिनिधिसभाको बैठकले बाढी पहिरोसम्बन्धी जरुरि सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरेको थियो । सो प्रस्ताव प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रस्तुत गरेको थियो ।
बाढी पहिरो र त्यसले ल्याएको विपद्को प्रस्तावमाथिको छलफलपश्चात् सभामुखले विशेस प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सदनले सर्वसम्मतले समर्थन गरेको घोषणा गर्दै सभामुखले अर्को बैठक आज १ बजेलाई बोलाएका थिए ।
