काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे अनुसन्धान जारी रहेको भन्दै अपराधीले उन्मुक्ति नपाउने बताएका छन् ।
सोमबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उनले भने, ‘अपराधी कुनै पनि हालतमा उम्किँदैन, अनुसन्धानमा गैरव्यावसायिक कार्य गर्ने प्रहरी निगरानीमा छन् ।’
अनुसन्धान क्रममा भएका घटनाको सबैकुरा सार्वजनिक गर्न नमिल्ने भन्दै गृहमन्त्री थापाले कतिपय घटनाको अनुसन्धान जटिल हुने बताए ।
एक वर्षको अवधिमा विभिन्न समितिले घटनाको अनुसन्धान गरेको जानकारी दिँदै अनुसन्धान टुंगोमा पुर्याउन प्रहरीलाई आवश्यक निर्देशन दिइसकेको उनले बताए । भने, ‘सयौं व्यक्तिलाई अनुसन्धानको घेरामा राखेका छौं । नयाँ सूत्रबाट अनुसन्धान अगाडि बढेको छ ।’
‘अनुसन्धानलाई नतिजामा पुर्याउन कुनै कसर बाँकी राखिने छैन, अनुसन्धान कार्यमा हुने कुनै पनि किसिमको लापरबाहीलाई मन्त्रालयले सहने छैन’ उनले भने ।
मन्त्री थापाले कोही पनि हाइप्रोफाइललाई जोगाउन निर्मला प्रकरण नमोडिएको दाबी गरे । ‘धेरैलाई हाई प्रोफाइललाई जोगाउन हो कि भन्ने परेको छ’, थापाले भने, ‘तर त्यो होइन । अहिले पनि अनुसन्धान चलिरहेकाले निचोडमा पुगिहाल्नु हुँदैन ।’
यसैबीच, राष्ट्रियसभाका सांसद् चन्द्रबहादुर खड्काले निर्मला पन्तको बलात्कारपछि हत्यामा दीलिप विष्ट संलग्न भएको दाबी गरेका छन् । गृहमन्त्री सम्मिलित बैठकमै खड्काले यस्तो दाबी गरेका हुन् ।
उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘डीएनए बाहेक अरु सबै कुराले दीलिप नै हत्यारा भएको पुष्टि हुन्छ । यो घटनामा दीलिपको साबिती बयानलाई किन आधार बनाइएन ? कतै हाई प्रोफाइल खोज्ने नाममा निरअपराधी त फस्दैन ?’
