काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय समितिमा विधेयकमाथिको छलफलमा भाग लिँदा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन भन्दै आफ्नै पार्टीका सांसद्माथि आक्राेश पाेखेका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा कांग्रेस सांसद् जिपछिरिङ लामाले विज्ञापन बोर्ड गठन समानुपातिक सिद्धान्तको आधारमा हुुनुपर्ने अडान लिएपछि सभापति देउवाले प्रतिवाद गर्दै संसदीय समितिमा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन सचेत गराएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीका सांसद् लामालाई हरेक ठाउँमा प्रतिपक्षी नबन्न चेतावनी दिए । उनले भने, 'समानुपातिक मात्रै भनेर हुन्छ ? काम गर्न सहज हुनुपर्दैन ?' । उनले विज्ञापन बोर्ड ठूलो हुने भएकाले पनि त्यसलाई समानुपातिक सिद्धान्तका आधारमा गर्न नसकिने बताए ।
बैठकमा देउवाले सबै क्षेत्रमा समानुपातिक सिद्धान्तका आधारमा अघि बढ्न सम्भव नभएको बताए । ‘विज्ञापन नियमनका लागि व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले भने, 'सबै क्षेत्रमा समानुपातिक सिद्धान्तको आधारमा अघि बढ्न सम्भव छैन, त्यसलाई समावेशी सिद्धान्तका आधारमा अघि बढाउने व्यवस्था संविधानमै गरिएको छ ।'
सांसद् लामाले भने संविधानको व्यवस्था अनुसार सो बोर्डको गठन गर्दा समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने अडान राखेका थिए । सोही विषयलाई लिएर सभापति देउवा आफ्नै पार्टीका सांसद् लामाप्रति खनिएका थिए ।
बैठकमा कांग्रेस सांसद् हिरा गुरुङले सरकारले गठन गर्ने कुनै पनि निकायमा संविधान बमोजिम ५० प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरे ।
कांग्रेसका अर्का सांसद् दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा रहने सदस्यहरुलाई दिने भत्ता पनि कानुनमै उल्लेख गरेर जानुपर्ने प्रस्ताव अघि सारे ।
बैठकमा सांसद् तथा समितिका सदस्यहरुले विज्ञापन बोर्डमा नियुक्त हुने अध्यक्षलाई मात्रै तलवको व्यवस्था गर्नुपर्ने पनि बताएका थिए ।
बैठकमा समितिका सदस्यहरुले तोकिएको कार्यसम्पादनमा कुनै सदस्य इमान्दार नभए वा तोकिएको काम नगरे बोर्डले नै उक्त सदस्यलाई हटाउने वा राख्नेबारे अन्तिम निर्णय लिनसक्ने व्यवस्था गर्न समितिलाई सुझाव दिएका थिए ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पनि समावेशी सिद्धान्तका आधारमा विज्ञापन बोर्ड गठन गर्ने व्यवस्था संविधानमै भएकाले सोही अनुसारको प्रावधान राखिएको स्पष्टिकरण दिएका थिए ।
