आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने तालिका रहेको छ । गत साउन १३ गते बसेको बैठक प्रतिपक्षले अवरोध गरेपछि आज ११ बजे बस्ने गरि स्थगित भएको थियो .
आजको बैठकको कार्यसूचि
आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुचि सोमबारकै रहेको छ । उक्त दिन प्रतिपक्षले बैठक अवरोध गरेपछि सो कार्यसूचि अनुरुप छलफल हुन सकेको थिएन र आज सोही कार्यसूचि अनुरुप सदनमा छलफल हुन लागेको उल्लेख छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने बताइएको छ। त्यस्तै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पनि श्रीवास्तवले पेस गर्ने कार्यक्रम रहेको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्ण कुमारी सुवेदीले वातावरण संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने साथै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भू–उपयोग विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आज पनि सदन अवरोध हुनसक्ने
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्ने प्रतिनिधिसभाको बैठक अवरोध गर्ने बताएको छ । सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिनसमिति गठन नगरेसम्म राजपाले बैठक चल्न नदिने अडान दोर्होयाएको हो ।
मंगलबार काठमाडौंमा बसेको राजपा अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैरन्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जनाको ज्यान गएको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने निर्णय गरेको बताइन्छ ।
कांग्रेसको समर्थन
राजपाको सदन अवरुद्ध गर्ने कदमलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गर्दै आएको छ । सर्लाही घटनाको विषयमा सदन अवरुद्ध गरेकोमा कांग्रेसले राजपाको हात थामेको हो ।
सोमबारको बैठकमा करिब ४० मिनेट लामो अवरोध नहटेपछि बैठक संचालन हुन सकेको थिएन । सभामुखले अर्को बैठक साउन १५ गते बुधबार बिहान ११ बजे बस्ने गरि बैठक स्थगित गरेको घोषणा गरेका थिए ।
