काठमाडौं । प्रतिपक्षी दलको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ ।
प्रतिपक्षी दलको निरन्तरको अवरोधका कारण गत साउन ८ यता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन । साउन ८ मा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले नै दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका लागि सदन चलेको थियो ।
गएको सोमवार पनि प्रतिपक्षी राजपा र कांग्रेसको अवरोधका कारण सदन स्थगित भएको थियो । सोमबार सर्लाही घटनामा निधन भएका दुई जनाको विषयमा संसदीय समिति बनाएर छानबिनको माग गर्दै सदन अवरोध गरेका प्रतिपक्षी दलले आज बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयमा पनि छानबिन गरी दोषीलाई कारबाहीको माग राखेका छन् ।
राजपाको सदन अवरुद्ध गर्ने कदमलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गर्दै आएको छ । सर्लाही घटनाको विषयमा सदन अवरुद्ध गरेकामा कांग्रेसले राजपाको हात थामेको हो ।
अवरोधकै बीच ‘शून्य समय’
बैठक सुरु भएपछि प्रतिपक्षी सांसदले सधैँ झैँ उठेर विरोध गरे । सभामुखले ‘माननीय सदस्यहरु बसेकै मानौँ’ भन्दै बैठक सुरु भएको घोषणा गरे । उनले भने– अब बैठकको शून्य समय सुरु हुन्छ । लगत्तै प्रतिपक्षी सांसदहरुले बेल घेरेर नाराबाजी गर्न थाले ।
सभामुखले फेरि भने– ‘माननीय सदस्यहरु सदनको कारबाही यसरी अवरुद्ध हुँदा जनताका कतिपय समस्याहरु सदनमा प्रवेश गर्न पाइरहेका छैनन् र सरकारले त्यसको कारबाही गर्न पाइरहेको छैन । माननीयहरुले उठाउनुभएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको छ । सदन अवरुद्ध रोकिदिनुस् । आसन ग्रहण गरिदिनुस् र छलफलमा आउनुहोस् ।’
माइक अन–अफ
सदनमा नाराबाजी चलिरहँदा सभामुखले अडियो माइक अन र अफ गरिरहेका थिए । आफूले बोल्ने बेलामा माइक अन गर्थे भने आफू बोलिसकेपछि फेरि माइक अफ गरिदिन्थे ।
नाराबाजी र अवरोध रोकिएन । माइक अन गरेर सभामुखले भने– ‘अदालतमा विचाराधीन विषयमा नबोल्न आग्रह गर्दछु । अदालतमा विचाराधीन विषयमा बोल्न मनाही छ । आफ्ना कुरा राख्नुहोस् ।’
माइक अन भएको यही समयमा उनले फेरि सदन चल्न दिन आग्रह गरे । भने, ‘सबै विषयमा छलफल गरी निकास दिने थलोका रुपमा सदनलाई लिनुपर्ने हुन्छ । सदनलाई लामो समय अवरोध गरेर छलफललाई अवरोध गर्न मिल्दैन । माननीय सदस्यहरुलाई अवरोध रोक्न आग्रह गर्दछु ।’
'सभामुखको विरुद्धमा बोल्न पाइँदैन'
नाराबाजीकै बीचमा प्रतिनिधिसभा सदस्यहरुले सभामुखको विरुद्धमा नाराबाजी गरेपछि सभामुखले उनीहरुलाई सचेत गराएका थिए । सभामुखको विरुद्धमा बोल्न नपाइने भन्दै उनले प्रतिपक्षी दलका प्रतिनिधिसभा सदस्यहरुलाई भने– ‘माननीय सदस्यहरु, सभामुखको विरुद्धमा बोल्न मनाही छ ।’
फेरि एकपटक अनुरोध
अवरोध जारी नै रहेपछि पुनः एकपटक सभामुखले सांसद्हरुलाई आग्रह गरे । सभामुखले भने– ‘यहाँहरुले उठाउनुभएको विषयवस्तु सरकारसमक्ष पुर्याउन, यसलाई समाधान गर्न सदन चल्नुको विकल्प छैन । सदन चल्नका लागि यो अवरोध अन्त्य गर्नु जरुरी छ । त्यसैले म ‘एकपटक’ विशेष अनुरोध गर्न चाहन्छु । आसन ग्रहण गरिदिनुस् ।’ उनको एकपटक शब्दले अब यसपछि उनले बैठक स्थगन गर्छन् भन्ने स्पष्ट गथ्र्यो ।
अर्को बैठकमा सहयाेगकाे आशा
बैठक चल्न नसक्ने भएपछि अन्ततः सभामुखले बैठक स्थगन गरे, अर्को बैठकमा सदन चलाउन सहयोगको अपेक्षासहित । भने– ‘माननीय सदस्यहरुले यसलाई विचार पु¥याउँदै आगामी बैठक सहज ढंगले चल्न दिन सहयोग गरी संसदीय सर्वोच्चता कायम राख्नुहुने छ भन्ने कुरामा म विश्वास राख्छु ।’
अर्को बैठक भोलि २ बजे
करिब ५० मिनेटसम्म अवरोध गरेपछि सभामुखले भोलि बिहीबार दिउँसो २ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । सदन अवरुद्ध भएपछि कार्यसूचिमा छलफल हुन सकेन ।
