काठमाडौं । आज प्रतिनिधि सभाको बैठक प्रतिपक्षको अवरोधका कारण स्थगित भएको छ ।
गत सोमबारदेखि प्रतिनिधिसभा बैठक प्रतिपक्षले सर्लाही घटनाको विषयलाई लिएर अवरोध गर्दै आएका छन् ।
अवरोधपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले फरक–फरक तर्कराखेका थिए ।
सरकारले नागरिकहरुको जीवन रक्षा मानव अधिकार र विधिको शासनबारे दवाव सिर्जना गरेकोे सांसद बालकृष्ण खाँडले बताए । सर्लाही घटना लगायत अन्य घटनाहरुमा सरकारको ध्यान नगएको र नागरिकहरु सरकारबाट सुरक्षित नभएको उनको तर्क थियो ।
खाँडले भने, ‘सबै नागरिको जीवन रक्षाको लागि सरकार जिम्मेवार बन्नुपर्छ । तराई घटनाजस्ता विभिन्न समस्याहरुको बारेमा छानबिन समिति गठन होस् भन्ने हाम्रो माग हो ।’
राष्ट्रियसभाको सभामुख र प्रतिनिधि सभाको सभामुख एउटै पार्टीको रहेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।
‘सदन अवरोध होस् भनेर नारा लगाएको होइन, सदनमा सभामुखले स्वतन्त्र भएर काम नगरेकाले यस्तो अवस्था आएको हो’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले भने ।
सभामुख सरकारको पक्षमा रहेको कारण प्रतिपक्ष दलको मागको सुनुवाई नभएको उनको भनाइ थियो । प्रतिपक्षको आजको विरोध सर्लाही घटना र संसदीय छानबिन समिति गठन गर्ने विषयमा भन्दा पनि सरकार र सभामुख विरुद्ध रहेको थापाको आसय थियो ।
सत्तापक्षका सांसद देव गुरुङले सभामुखको निर्णय नै सर्वमान्य हुने गरेको भन्दै सदनको नियम विपरित गई बैठक अवरुद्द गर्ने चालखेल सदनभित्र भएको बताए ।
संसदीय सर्वोच्चताको बारेमा सरकारको ध्यान नगएको भनेर प्रतिपक्षीहरुको बहाना मात्र रहेको र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग मिलेर राजपाले सिधै सरकारको विरोध गर्न खोजेको नेकपाका प्रतिनिधि सभा सदस्य सुवास चन्द्र नेम्वाङले बताए ।
आजको बैठकमा निर्मला हत्या काण्डलाई पनि जोडिएको थियो । सभामुखले अदालतमा विचाराधीन अवस्थामा रहेको बिषय नबोल्न सांसदहरुलाई सचेत गराएका थिए ।
सदनभित्र गरिएको नाराबाजीमा निर्मला प्रकरणका दोषीलाई कारवाही गर भन्ने नारा लगाएपनि बाहिर भने यस बारेमा कसैले पनि मुख खोलेका थिएनन् ।
