दुबै सदनको संसदको बैठक आज बस्दैछ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक दिनको २ बजे र राष्ट्रिय सभाको बैठक दिनको ३ बजे बस्ने तालिका रहेको छ । राष्ट्रिय सभाको बैठक दिनको १ बजे बस्ने तालिका रहेपनी विशेष कारणवश २ घण्टा पर धकेलिएको बताइएको छ ।
दुई दिनसम्म प्रतिपक्षको अवरोधको सिकार बनेको प्रतिनिधि सभा बैठक आज पुनः बस्दैछ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सामाजिक सुरक्षा, प्राकृतिक प्रकोप लगाएतका बिषयमा छलफल भएको थियो ।
आजको बैठकमा भने राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल, रामनारायण विडारी र कालीबहादुर मल्लले संयुक्त रुपमा दर्ता गरेको ‘नेपाल सरकारबाट लागू गरिएको वातावरणमैत्री सवारी र यातायात नीति, र विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्थाका सम्बन्धमा’ जानकारी गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण प्रस्तावमा छलफल हुने कार्यतालिका छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘राष्ट्रिय खेलकुद विकास विधेयक माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा राष्ट्रिय खेलकुद विकास विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभा बैठक भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पाटी (राजपा) ले अवरोध गरेपछि बिना छलफल स्थगन हुँदै आएको छ । यसअघि सोमबार र बुधबार बसेको बैठक अवरोधका कारण चल्न नसकेको हो ।
सर्लाही घटनाको विषयमा गरिएको सदन अवरोधले नया मोड लिन थालेको छ । बैठक सूरु भएपछि नाराबाजी गरेर अवरोध गर्ने गरेका प्रतिपक्षले निर्मला प्रकरणलाई पनि जोडेको थाहा भएको छ ।
अवरोध सिर्जना गर्ने नया शैली अपनाएको प्रतिपक्षले बुधबार संसदीय इतिहासमा पहिलोपटक सभामुख विरुद्ध नाराबाजी गरेको थियो ।
प्रतिनिधि सभा आज पनि चल्छ या चल्दैन अन्योल छ । बैठकको कार्यसूची पुरानै रहेको छ र बिना अवरोध बैठक संचालन भए त्यहि अनुरुप सदनमा छलफल हुने छ । कार्यसूची यस्तो रहेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने बताइएको छ। त्यस्तै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पनि श्रीवास्तवले पेस गर्ने कार्यक्रम रहेको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले “जीवनाशक विषादी व्यवस्थापन विधेयक का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले वातावरण संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने साथै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भू–उपयोग विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
