काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले बोलाएको सर्वदलिय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि विहीबारका लागि बोलाईएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो । सर्वदलिय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सूचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्ने नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ ।
बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल , राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायत सहभागि थिए ।नेत्र विक्रम चन्द्र विप्लब समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको
गोली लागि निधन भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे कांग्रेस र राजपाले गत २४ असारे देखि सदन अवरुद्ध गर्दै आएका छन् । पौडेलको लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसंगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग गर्दे आएको हो ।
त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमित कुमार रायको निधन भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागि सिंहको निधन भएको थियो ।
बाढी पहिरो सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नका लागि साउन ८ को बैठक भने सुचारु गरिएको थियो ।
