काठमाडौं । संघीय संसद अन्तर्गत आज बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै विभिन्न दलका सांसदहरुले शिक्षा, महँगी, प्राकृतिक प्रकोप र राहतको विषयमा आफ्नो धारणा राखेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले शिक्षाको बारेमा आफ्नो धारणा राखे । उनले नेपालबाट अरबौ रुपैंया उच्च शिक्षाको लागि विदेशिएको र प्रतिभाहरु पलाएन भएको बताएका छन् । शैक्षीक गुणस्तरको बारेमा बोल्दै उनले भने, ‘एकातिर हामी विद्यमान शैक्षिक समस्याहरुको गुणस्तर सुधार गरेर सबैलाइ शिक्षा प्रदान गर्नुपर्ने अवस्थामा छौं । बढिरहेको युवाहरुको चापलाई थेग्न सक्नेगरि विश्व विद्यालयहरुको सुधार र बिस्तार गर्नुपर्ने अवस्थामा छौं ।’ मानव स्रोतको विकास नभएसम्म हाम्रो समाजको विकास असम्भव रहेको उनको भनाई थियो ।
विश्व विद्यालयमा हुने दलिय भागवण्डाको अन्त्य अपरिहार्य रहेको भन्दै उनले भने, ‘सो प्रयोजनका लागि आवश्यक नीतिगत व्यवस्था गर्दै निकट भविष्यमा रिक्त हुन गएका सातवटा विश्व विद्यालयका पदाधिकारी छनोटको लागि अधिकार सम्पन्न स्वतन्त्र ‘सर्च कमिटि’ अविलम्ब निर्माण गरि योग्यता, क्षमता, कामको प्रस्तावना र प्रतिस्पर्धाको आधारमा उपकुलपति देखि विभागिय प्रमुखसम्मको नियुक्ती गर्ने कानुनी प्रबन्ध मिलाउन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गर्दछु ।’
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले तरकारीको मुल्य आकासिंदै गएको भन्दै बजार मुल्यबारे सदनमा छलफल गरिनुपर्ने बताए । उनले खाद्यान्न लगायत मासुको मुल्य पनि आकाशिँदै गएकाले बजार मुल्यको तुलनात्मक अध्ययन गर्न सरकारलाई आग्रह गरे । उनले सर्वसाधारणको मुलभुत आवश्यकता र अत्यधिक खर्च हुने तरकारी तथा खाद्यान्न सर्वसुलभ उपलब्ध गराउनेतर्फ राज्यले गरेको तयारीबारे सदनलाई जानकारी गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
नेकपाकी राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले लामो समयदेखि विकासको अभ्यास ढाँचाका कारण आजपनि योजनावद्ध र आवश्यकतामा आधारित विकास हुन नसकेको बताइन् । उनले भनिन् ‘प्रभाव र पहुँचकै भरमा योजनाहरु बन्ने र कार्यन्वयनमा जाने अझै एउटै निर्माण कम्पनीलाई दर्जन भन्दा बढि विकास योजनाका ठेक्का दिने र ठेकेदारहरुले आयोजना सुरुगर्ने, सुरुको ‘मोबिलाइजेसन’ लागत लिने, सो ठेकदारले रकम निर्माणको काम नगरी अन्यत्रै नाफामुलक क्षेत्रमा लगानी गर्ने, घरघडेरी जग्गा तथा अन्य व्यवसायमा लगानी गर्ने परिपाटी बढ्दो छ, जसकारण आयोजनाहरु अलपत्र पर्ने कम गुणस्तरको हुने गरेको छ ।’
नेपाली जनताले सहज ढंगबाट दैनिक उपभोग्य वस्तुहरु उपभोग गर्न पाइराखेका छैनन् भन्दै उनले सरकारले अनुगमनको प्रक्रियालाई तत्कालै अगाडी बढाउनु पर्ने बताइन् । संघीय समाजवादी पार्टीका राष्ट्रिय सभा सदस्य रामप्रित पासवानले लोकसेवा आयोग आरक्षण व्यवस्थालाई नजारअन्दाज गरेका विरुद्धमा देशको ठुलो जनशक्ति मधेशी, दलित, आदिवासी–जनजाति, मुस्लिम, पिछडिएका जनताहरु अझै पनि आन्दोलित रहेको बताएका छन् । संविधानभन्दा माथी कुनै व्यक्ति वा निकाय नहुने भन्दै उनले लोकसेवाको विज्ञापनप्रति असन्तुष्टि व्यक्त गरे ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले बाढी पहिरोको बिषयमा सरकारसँग प्रश्न गरेका छन् । उनले मोरङ, सुनसरी र २ नम्बर प्रदेशको अधिकांश भाग बाढीले प्रभावित बनेको भन्दै जनताहरु अत्यन्त आक्रान्त रहेको बताएका छन् । पीडितले अत्यन्त दर्दनाक जिवन व्यतित गरिरहेको भन्दै देवले त्यसको लागि तत्कालिन र दीर्घकालीन योजना बनाउनु पर्ने बताए । ती स्थानहरुमा माहामारी फैलन सक्छ, अस्पताल भित्र ठाउँ नपाएर बाहिर बस्ने दिन आउँदा के गर्ने भन्दै उनले सरकारलाई प्रश्न गरेका थिए ।
राष्ट्रिय जनता पार्टी (राजपा) का राष्ट्रिय सभा सदस्य रमेश प्रसाद यादवले बाढी–पहिरोले तराइका जिल्लामा ठुलो जनधनको क्षति भएको बताउँदै त्यसबारेमा प्रदेश सरकारले अलिअलि काम गरेको तर संघीय सरकारले एकशब्द पनि नबोलेको आरोप लगाएका छन् ।
