काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक, रेल, विद्युतीय बसका, बारेमा सम्झौता भएको बताएका छन् ।
राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सडक कति बनाउने, रेलका लागि कति काम गर्ने, विद्युतीय बसका लागि देशभर कति चार्जिङ स्टेशन राख्ने भन्ने बारेमा सम्झौता भएको बताएका हुन् ।
उनले सरकारले ३ सय विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको र बस खरिदका लागि साझा यातायातलाई असार ३१ गते ३ अर्ब निकासा गरेको बताएका छन् ।
सातवटै प्रदेशको राजधानी तथा राजमार्गका मुख्य ठाउँहरुमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन राख्ने सम्झौता भएको मन्त्री महासेठको भनाई थियो ।
पूर्व पश्चिम विद्युतीय रेलमार्गको ९ सय ४५ किलोमिटरको डिपीआर तयार भएको मन्त्री महासेठले बताएका छन् । मन्त्री महासेठले बिचमा परेको एक सय ६० किलोमिटर निकुञ्ज परेको भागबाहेक झापाको मेचीदेखि कञ्चनपुरको गड्डा चौकीसम्मको भागको डिपीआर तयार भएको बताएका छन् ।
३० किलोमिटर ट्रयाक बनाउने काम पूरा भन्दै मन्त्री महासेठले यसवर्षदेखि रेलमार्ग निर्माणलाई तिब्रता दिने बताए । यस्तै काठमाडौं रसुवा–केरुङ र काठमाडौं–विरगंज विद्युतीय रेलमार्गका लागि प्रि–फिजिबिलिटीको काम भएको उनको भनाइ थियो । उनले काठमाडौं रसुवा ७६ किलोमिटर र काठमाडौं विरगंज १ सय ४० किलोमिटर विद्युतीय रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भएको बताउँदै काठमाडौं पोखरा रेलमार्गको पनि अध्ययन गर्ने बताए ।
