काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्वीकार गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले प्रधानमन्त्री ओलीले बोल्नुअघि नै सो पत्र नदिएर आफूले नेतृत्व लिएको मन्त्रालयले गल्ती गरेको स्वीकार गरेका हुन् ।
मन्त्री खनालले भने, ‘प्रधानमन्त्री ओलीले जेठ २१ गते सो विषयमा बोल्नुभएको तर हामीले त्यसको दुई दिनपछि मात्रै भारतीय दूतावासको पत्र दिनु गल्ती भयो ।’ प्रधानमन्त्री ओलीले सो सम्बन्धमा भारतबाट कुनै दबाब नआएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्री ओलीले २१ गते बोल्नुभयो, त्यो पत्र हामीले २३ गते मात्रै हात पारियो हामीले’, मन्त्री खनालको स्वीकारोक्ति थियो, ‘हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको, जिम्मेवार निकायको कमजारी हो।’
मन्त्री खनालले भारतबाट आयातित तरकारीमा विषादी परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटकपटक दोहोर्याए । यो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षण सम्बन्धी निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको उनको स्पष्टीकरण थियो ।
मन्त्री खनालले आयातित तरकारीमा विषादी परीक्षणको काम जारी रहेको त्यसलाई रोक्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।
बैठकमा समितिका सदस्यहरुले सो प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयबीच लज्जास्पद ढंगले विवाद भएको उल्लेख गर्दै त्यसको यथार्थ विवरण समितिमा जानकारी गराउन मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए । समितिका सदस्य दलबहादुर रानाले दुई मन्त्रालयबीच विषादी परीक्षणबारे भएको सार्वजनिक विवादले लज्जाबोध गराएको उल्लेख गर्दै त्यसबारे यथार्थ जानकारी गराउन मन्त्री खनाललाई सचेत गराएका थिए ।
समितिका सदस्यहरुले सरकारले विषादी परीक्षणको कामलाई गम्भीरतापूर्वक नलिएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।
बाढीपहिरो र डुबानले प्रदेश २ मा साढे तीन अर्बको क्षति
बैठकमा मन्त्री खनालले अविरल वर्षाका कारण गत महिना आएको बाढी पहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा साढे तीन अर्बको क्षति भएको जानकारी गराए । उनले प्रदेश २ का ८ जिल्लामा कृषितर्फ एक अर्ब ९७ करोड तथा पशुपक्षीतर्फ एक अर्ब ६२ करोडको क्षति भएको जानकारी दिए ।
असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण मुलुकका कृषि तथा पशुपक्षीका क्षति विवरणको सत्य तथ्य विवरण समिति समक्ष पेश गर्न मन्त्रालयलाई निर्देशन भएपछि मन्त्री खनालले त्यसपछिको बढी क्षति प्रदेश नं १ मा भएको जानकारी दिए । उनले प्रदेश नं. १ का जिल्लामा ८१ करोड ५४ लाख ७२ हजार मूल्यका कुखुरा तथा चौपाया र बाली नष्ट भएको जानकारी दिए ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको साउन १३ गतेसम्म सङ्कलन भएको तथ्याङ्क विवरणमा प्रदेश नं. १ मा दुई हजार चार सय ४६ घरधुरी प्रभावित भएका छन् । प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट भने वर्षाका कारण पुगेको क्षतिकाे विवरण हालसम्म आइनसकेको मन्त्री खनालले बताए ।
