काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले संसद र संसदीय समितिले दिएका निर्देशन पूर्ण पालना गरेर अघि बढने प्रतिवद्धता जनाएका छन् ।
मन्त्री भएपछि पहिलो पटक प्रतिनिधिसभा अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित भएका भट्टराईले केही दिन भित्रै आफ्नो मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने पनि बताए । उनले आफ्ना सबै कामकारबाही पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
मन्त्री भट्टराईले आफ्नो मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कसैप्रति पूर्वाग्रह राख्ने अवस्था आउन नदिने उद्घोष पनि गरे ।
बैठकमा समितिका सदस्यहरुले विमान खरिद प्र्रकरणमा देखिएका सबै समस्या समाधान गरेर अघि बढन मन्त्री भट्टराईलाई सुझाव दिएका थिए ।
समितिका सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमान खरिद प्रकरणमा देखिएका समस्या समाधान गर्दै आगामी दिनमा त्यस्ता समस्या आउन नदिने गरी काम गर्न मन्त्री भट्टराईलाई सुझाव दिए । उनले जनताको भावनामा चोट नपु¥याउने गरी सांस्कृतिक क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
नेता नेपालले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर भ्रमण वर्षको प्रचार तथा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले केही हवाई कम्पनीहरुले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेस्क्यु गर्ने विकृतिलाई रोक्नका लागि विशेष ध्यान दिन मन्त्री भट्टराईलाई आग्रह गरे ।
समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले नेपाल एयरलाईन्सलाई सरकार आफैले संचालन गरेर नेपालको हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्री भट्टराईलाई आग्रह गरे ।
त्यसैगरी समितिकै सदस्य पुष्पा भुसालले हवाई उडड्यनको क्षेत्रलाई व्यवस्थित बनाएर मुलुकको पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन मन्त्री भट्टराई सफलता मिल्ने विश्वास व्यक्त गरिन् ।
सांसद दिव्यमणी राजभण्डारीले नेपाल वायुसेवा निगमका वाइडबडी जहाजलाई लामा र ठूला गन्तव्यमा उडाउन र मुलुकका विकट ठाउँका विमानस्थल सञ्चालनमा जोड दिन माग गरे ।
समितिका अन्य सदस्यहरुले मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि निर्माणाधिन विमानस्थलको निर्माणको काम समयमै पूरा गर्ने विश्वास पनि व्यक्त गरेका थिए ।
मन्त्री भट्टराईले आफूले समितिका निर्देशन तथा सुझावलाई मनन गर्ने बताए ।
