काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्ने तालिका रहेको छ । पछिल्ला बैठकहरुमा अवरोध भइ बैठक संचालन हुन सकेको थिएन । गत साउन ८ गते सार्वजनिक महत्वको जरुरी प्रस्ताव उपर छलफल भएयता संसदको काम अघि बढ्न सकेको छैन ।
सर्लाहीमा नेत्र विक्रम चन्द–विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको जम्काभेटमा गोली लागि निधन भएको विषयलाई अघिसार्दै नेपाली कांग्रेसले सदन अवरुद्ध पार्दै आएको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी ९राजपा० ले भने राजमार्ग ठप्प गर्दै विरोध गरिरहेको स्थानमा प्रहरीको गोलीलागि निधन भएका सरोज नारायण सिंहको विषयमा छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गरिहेको छ ।
सभामुख कृष्णबहादुर महराले छलफलका लागि तीन दिनको समय दिएर प्रतिनिधिसभाको बैठक स्थगित गरे पछि सचिवालयले सोमबार ११ बजे सदन सञ्चालन गर्ने भनेर सूचना टाँस गरेको थियो । तर, सभामुख महराले व्यक्तिगत रूपमा नेता भेटेर अनौपचारिक कुराकानी गरे पनि सत्ता र प्रतिपक्षी दल एकै ठाउँमा बस्ने परिस्थिति बन्न नसकेको बताइएको छ ।
आजको बैठकको कार्यसूचि यस्तो रहेको छ।
सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यतामलिका रहेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने कार्यक्रम पनि आजको कार्यसूचिमा रहेको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले वातावरण संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्यतर्फ कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूउपयोग विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
