काठमाडौं । नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरू प्रतिनिधि सभाको अवरोध हटाउन सहमत भएका छन् ।
सभामुख कृष्णबहादुर महराको पहलमा सोमबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरू प्रतिनिधि सभाको अवरोध हटाउन सहमत भएका हुन् ।
प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न विशेष समिति गठन गर्ने सहमति भएपछि प्रतिपक्षी दलहरू अवरोध खुलाउन तयार भएका हुन् ।
आगामी दिनमा गतिरोध हुन नदिने विषयमा सात सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको हो । समितिको नेतृत्व नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गर्ने बताइएको छ ।
दलहरुले प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाएर अघि बढ्ने पनि बताएका छन् ।
प्रतिपक्षी दलले सर्लाहीका दुई घटनामा प्रहरीले गोली चलाएको विषयमा संसदीय छानबिन माग गर्दै आएका थिए । सत्तारूढ दलहरूले भने संसदीय छानबिन समितिलाई नमान्ने बताएका थिए ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक सर्वदलीय बैठकका लागि भन्दै दुई घण्टा पछि सारिएको थियो । प्रतिनिधि सभाको बैठक केहीबेरअघि सुरु भएकाे छ ।
