काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलले सदनलाई अवरुद्ध गर्न नचाहेको बताएकी छिन् ।
केही दिनको अवरोधलाई पन्छाउदै आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै भुसालले सरकारले सदनप्रति जिम्मेवारी तथा उत्तरदायित्व बहन गर्नुपर्ने मान्यता रहेको बताइन् । ‘सदनलाई गतिशील बनाउनु पर्छ र लोकतन्त्रका मान्यताहरूलाई नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत स्तम्भलाई अझै बलियो बनाउनु पर्छ', उनले भनिन्, 'ती विषयलाई सदनभित्रै प्रवेश गराएर सभामुखमार्फत् राज्य र सरकारको ध्यानाकर्षण गराएर सरकारलाई सदनप्रति नै जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने मान्यता प्रमुख प्रतिपक्षको छ ।’
लामो समयदेखि सदन अवरुद्ध भइारहेको भन्दै उनले सदनलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनु पर्छ भन्ने मान्यताका साथ अगाडि बढिराखेको बताएकी छिन् ।
उनले भनिन्, ‘जनसरोकारका विषयहरू, सुशासनका विषयवस्तुहरू र लोकतन्त्रका आधारभ"त मूल्य मान्यताका विषयवस्तुमा यहL सदनबाटै त्यसको निकास गर्नुपर्दछ भनेर प्रमुख प्रतिपक्षी दलले पटक–पटक यो आवाजलाई सदनभित्र उठायो ।’
सदन सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्षी दलले सभामुखको सक्रिय पहलको अपेक्षा गरेको भन्दै उनले भनिन्, ‘हामी आशावादी छौं, सभामुखले सदनको गतिरोधलाई हटाएर सदनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न नेतृत्वदायी भूमिका खेल्नुहुन्छ भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल विश्वस्त छ ।’
कांग्रेस पार्टी कुनै पनि हत्या हिंसाको पक्षमा नरहेको उनको भनाइ थियो । 'हिजोका दिनमा पनि यस्ता कुरालाई शान्तिपूर्ण ढंगबाट व्यवस्थापन गर्नुपर्छ, समाधान गर्नुपर्छ भन्ने मान्यता रहेको र भोलि पनि यसै अडानमा रहिरहने छ', उनले भनिन् ।
नेपाली कांग्रेसले सधैं आफ्नो दृष्टिकोणलाई अगाडि सार्ने गरेको भन्दै उनले भनिन्, ‘हामी लोकतन्त्रका आधारभूत मूल्य मान्यताका कुराहरू मानवअधिकारसँग जोडिएका विषयवस्तुमा, संविधानवादका विषयवस्तुमा, विधिको शासनको विषयवस्तुमा, सुशासनको विषयवस्तुमा, समृद्ध नेपालको विषयवस्तुमा, भ्रष्टचारमुक्त समाजको सिर्जना गर्नको लागि समाजवादको वकालत गर्नको लागि नेपाली कांग्रेस सधैं आफ्नो दृष्टिकोणलाई अगाडि सारेकै छ भन्ने कुरा म यहाँ अवगत गराउन चाहन्छु ।’
सदनले यस्ता शान्ति सुरक्षाका विषयवस्तुलाई भ्रष्टाचारमुक्त समाजका विषयवस्तुलाई मानवअधिकारका विषयवस्तु सदनमार्फत् र सभामुखमार्फत् राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्छ भनेर प्रमुख प्रतिपक्षी दलले सदनलाई भरपूर उपयोग गर्न चाहेको उनको भनाइ थियो ।
