काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका सांसद् राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा सार्थक संवादको सुरुआत भएको भन्दै सभामुख कृष्णबहादुर महराको पहलकदमीको प्रशंसा गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले भने, ‘सभामुखले नेतृत्वदायी भूमिका खेल्दै सबै दललाई विश्वासमा लिएर सदनलाई अगाडि बढाउन सफल हुनुभएको छ, राजपाका तर्फबाट धेरै धन्यवाद ।'
सांसद् यादवले यसले संवाद, सहकार्य र वार्ताको माध्यमबाट जस्तोसुकै समस्या समाधान गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको बताए । उनले भने, ‘वास्तवमा हामीले खाजेको यस्तै लोकतन्त्र हो । आज यो लोकतान्त्रिक यात्रामा एक पाइला अगाडि बढेर थप समृद्धितर्फ बढेको कुरा हामीलाई आभास भएको छ’ ।
संसदीय व्यवस्थामा सदन भनेको लोकतन्त्रको सबैभन्दा ठूलो मन्दिर र जनताको सबैभन्दा बढी आड र भरोसा भएको केन्द्र रहेको पनि उनले बताए । ‘हामी जनसरोकारका विषय, जनताका पीडा, जनप्रतिनिधिहरुमार्फत यो सदनमा उठाउने र सदनको नेताको रुपमा सम्माननीय सभामुखले त्यो विषयलाई ग्रहण गरेर सरकारलाई त्यसप्रति जनउत्तरदायीर संसदप्रति उत्तरदायी बनाउनका लागि निर्देशन दिनुहुन्छ’, यादवले भने ।
केही दिनदेखि आफूहरुका कुरा सुनुवाइ नहुँदा प्रतिनिधिसभा अवरुद्ध गरेको भन्दै सांसद यादवले ती सबै जनसरोकारका विषय भएको बताए । ‘ती जनसरोकारका विषय थिए, स्टेटको क्रेडिबिलिटी, व्यवस्थाको विश्वसनियतासँग जोडिएका विषय थिए, कांग्रेस र राजपासँग सम्बन्धित विषय मात्रै थिएनन्’, यादवले भने ।
सांसद यादवले मूलतः दुई विषयलाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको पनि उनले जानकारी दिए । ‘गिशिचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक र सर्लाहीका तीन वटा घटनाको सही तथ्य बाहिर आउनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएका थियौँ, सभामुखको पहलकदमीबाट सार्थक निष्कर्षमा पुग्ने काम भयो,सबै प्रति आभार व्यक्त गर्छौँ’, यादवले भने ।
सांसद यादवले लाल आयोगको प्रतिवेदन छिटो सार्वजनिक गर्न पनि माग गरे । यसअघि सभामुखले पटक पटक रुलिङ गरेको र कानुनमन्त्री भानुभक्त ढकालले सार्वजनिक गर्न प्रतिवद्धता समेत जनाइसकेको भन्दै उनले अझै सार्वजनिक नगर्दा सरकारमाथि शंका उब्जिएको बताए ।
नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागी मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ देखि सदन अवरुद्ध गर्दै आएका थिए ।
लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दे आएको थियो । त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमितकुमार रायको मृत्यु भएपछि भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी सिंहको मृत्यु भएको थियो ।
उनले केही दिनदेखि सभामुखको सक्रियताले सत्तापक्ष र प्रतिपक्ष बीचमा एउटा सार्थक संवादको माध्यमबाट एउटा निष्कर्षमा पुगेको भन्दै उनले खुसी व्यक्त गरे । ‘यसबाट लोकतान्त्रिक पद्धतिका लागि र हामी बीचमा भएका समस्यालाईसंवाद र वार्ताको माध्यमबाट समाधान गर्न सक्छौँ भन्ने एउटा नजिर स्थापित भएको छ’, यादवले भने ।
उनले यसका लागि सभामुख लगायत वार्तामा आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सबैलाई आभार व्यक्त गरे ।
सांसद यादवले सभामुखबाट आउने प्रतिबद्धता र सरकारले बुझेकै स्पिरिटमा हुबहु लागू गर्ने विश्वासका साथ सदनको कामकारबाही अगाडि बढाउन सहमत भएको पनि बताए ।
उनले अहिले मधेस बाढीको पीडाबाट पूरै आहाल बेहाल भएको र सही ढंगले राहत नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी धान रोप्ने बेलामा किसानहरु मलखाद नपाएर संकटमा परेको भन्दै यसतर्फ ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराए ।
