काठमाडौं । सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई फेरि रुलिङ गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाका सांसद् राजकिशोर यादवले उक्त प्रतिवेदन चाँडै सार्वजनिक गर्न माग गरेपछि सभामुखले रुलिङ गरेका हुन् ।
सभामुख महराले उक्त विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न विशेष निर्देशन दिएका हुन् ।
सभामुखले यसअघि पटकपटक रुलिङ गरेको र प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा कानुनमन्त्री भानुभक्त ढकालले चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाइसके पनि सार्वजनिक नभएको गुनासो गरेका थिए ।
उनले मधेस तथा थरुहटमा भएका आन्दोलन र आन्दोलनका क्रममा भएको ज्यादतीको छानबिन र सत्यतथ्यबारे प्रतिवेदन तयार भएर पनि सार्वजनिक नहुनुले सरकारमाथि शंका उब्जिएको पनि बताएका थिए ।
यसअघि पनि सभामुख महराले पटकपटक प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरे पनि सरकारले सार्वजनिक गरेको छैन ।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
