काठमाडौं । संघीय संसद्को दिगो विकास तथा सुशासन समितिले प्रदेशसभाका सांसदहरूसँग दिगो विकास र सुशासनसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले दिगो विकास र सुशासनका लागि ठोस कार्ययोजना तय गरी कार्यान्वयनमा लैजाने उद्देश्यका साथ सबै प्रदेशका सांसद्हरूसँग आगामी साउन ३१, ३२ र भदौ १ गते नगरकोटमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
दिगो विकास र सुशासनका लागि प्रदेशका सांसदहरूलाई पनि कार्ययोजना तय गर्न सघाउ पुर्याउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् । सो कार्यक्रममा दिगो विकास र सुशासनको क्षेत्रका कार्यरत विज्ञहरूलाई सहभागी गराउने समितिको योजना छ ।
बैठकले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगका सचिव र महालेखा परीक्षकको कार्यालयका पदाधिकारीहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ । त्यसैगरी दिगो विकास तथा सुशासनसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणमा समितिको सहभागिता सुनिश्चित गर्न सरकारलाई सचेत पनि गराइएको समितिकी सचिव लामिछानेले बताइन् ।
बैठकमा समितिका सदस्यहरूले भ्रष्टाचार नियन्त्रणको कार्ययोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सक्ने गरी प्रदेशसभाका सांसदहरूसँग सो प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । समितिका सदस्य दीनानाथ शर्माले मुलुकका भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक कार्यक्रमले जोड दिनुपर्ने स्पष्ट पारे ।
समितिकी अर्की सदस्य डा. विमला पौड्यालले प्रदेश सांसदहरूसँगको सो प्रवर्द्धनात्मक कार्यक्रम मुलुकमा विद्यमान गरिबी हटाउन र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न केन्द्रित हुनुपर्ने बताइन् । उहाँले गरिवी हटाएर मात्रै मुलुकको दिगो विकासको आधार तय हुने भएकाले पनि समितिले यस्ता कार्यक्रमहरूलाई जोड दिनुपर्ने पनि बताइन् ।
मुलुकमा दिगो विकास र सुशासन कायम गर्न सरकारलाई आवश्यक निर्देशन दिने संवैधानिक दायित्वसहित संघीय संसदले यो समिति गठन गरेको हो । समितिले सो संवैधानिक दायित्वलाई पूरा गर्न प्रदेशसभाका सांसदहरूसँग पनि प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागेको हो ।
