काठमाडौं । प्रतिनिधिसभाले सोमबार गठन गरेको संसदीय विशेष समितिका संयोजक सुवासचन्द्र नेम्वाङले संसद बैठक अवरुद्ध नहुने गरी अध्ययन प्रतिवेदन तयार पारी संसदमा पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सत्तारुढ नेकपाका संसदीय दलका उपनेतासमेत रहेका संयोजक नेम्वाङले संविधान, नियम र स्थापित परम्परालाई समेत ध्यानमा राखेर संसद अवरुद्ध नहुने गरी आवश्यक सुझाव संसदमा पेस गर्ने गरी प्रतिनिधिसभाले आफू नेतृत्वको विशेष समितिलाई कार्यादेश दिएको जानकारी दिए ।
संघीय संसदको प्रतिनिधिसभाले बैठक अवरोधका सम्बन्धमा र आगामी दिनमा त्यसो हुन नदिने गरी आवश्यक सुझाव दिन ३० दिनको म्यादसहित नेम्वाङको नेतृत्वमा सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।
समितिमा कांग्रेस सचेतक पुष्पा भुसाल र नेता मीनेन्द्र रिजाल, नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र विन्दा पाण्डे, सत्ता साझेदार समाजवादी पार्टी नेपालका उमाशंकर अरगरिया र राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण सदस्य छन् । समितिले तोकिएको समयभित्र फेरि संसद बैठक अवरुद्ध नगर्ने गरी आवश्यक अध्ययन प्रतिवेदन पेस गर्ने संयोजक नेम्वाङले जानकारी दिए ।
कांग्रेस सचेतक एवम् समिति सदस्य पुष्पा भुसालले सर्लाही घटनाका सम्बन्धमा पनि समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदमा पेस गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताइन् । उनले सरकारलाई संसदप्रति जवाफदेही बनाउन पनि समिति उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
समितिका अर्का सदस्य एवम् राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले संसद फेरि अवरुद्ध हुन नदिन आवश्यक सुझाव दिन समिति गठन गरिएको स्पष्ट पारे । उनले समितिले सर्लाही घटना र गिरीशचन्द्र लाल आयोगको प्रतिवेदनबारे पनि अध्ययन गरी संसदमा प्रतिवेदन पेस गर्ने विश्वास गरे ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले सर्लाहीमा गैरन्यायिक हत्या राज्यपक्षबाटै गरिएको दाबी गर्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए । अवरुद्ध हटाउने क्रममा पूर्वसभामुखसमेत रहेका नेम्वाङको नेतृत्वको सर्वदलीय संसदीय विशेष समिति गठन गरिएको हो । समितिले भोलिबाट कार्यविधि तय गरी आफ्नो कामलाई अघि बढाउने पनि संयोजक नेम्वाङले जानकारी गराए ।
