काठमाडौं । सभामुखको विरोध गर्ने तथा सदनभित्र सभामुख कृष्णबहादुर महरा विरुद्ध नारावाजी समेत गर्ने हर्कतलाई नेपाली कांग्रेस र राजपाले सच्याएका छन् ।
दुवै पार्टीले सभामुख महराको प्रशंसा समेत गरेका छन् ।
यी दुई पार्टीले १५ असारको बैठकमा सभामुख कृष्णबहादुर महरा विरुद्ध नारावाजी गरेका थिए । संसदीय प्रणालीमा सभामुखको विरोध तथा विरुद्धमा नारावाजी अस्वाभाविक र अमर्यादित मानिन्छ ।
गत साउन ८ गते यता प्रतिपक्षको अवरोधका कारण सदन चल्न सकिरहेको थिएन । लामो छलफल पछि सहमति जुटाएर बैठक आज बसेको हो । प्रतिपक्षले सदन संचालनमा अवरोध सिर्जना नगर्ने भएपछि बैठक बस्यो र यसमा मुख्य भूमिका थियो– सभामुख कृष्णबहादुर महराको ।
सधैजसो सभामुख सदन समक्ष उत्तरदायी नभएको र सदन सञ्चालनमा जिम्मेवार नबनेको भनेर आलोचना गर्ने प्रतिपक्षले आजको बैठकमा सभामुखको प्रशंसा गरेका छन् । उनीहरुले सभामुखप्रति विश्वाश भएको समेत घोषणा गरेका छन् ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल र राजपाका राजकिशोर यादवले सभामुखको खुलेर तारिफ गरेका हुन् ।
कांग्रेस सचेतकले भुषलले सदन सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्षी दलले सभामुखको सक्रिय पहलको अपेक्षा गरेको भन्दै उनले भनिन्, ‘हामी आशावादी छौं, सभामुखले सदनको गतिरोधलाई हटाएर सदनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न नेतृत्वदायी भूमिका खेल्नुहुन्छ भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल विश्वस्त छ ।’
उनले सभामुखको प्रभावकारी नेतृत्व र प्रभावकारी भूमिकाको अपेक्षा गरेको बताएकी थिइन् । उनले भनिन् ‘नेपाली कांग्रेसले सम्माननीय सभामुखज्यूको प्रभावकारी नेतृत्व र प्रभावकारी भूमिकाको अपेक्षा गरेको छ ।’
राजकिशोर यादवले सभामुखको कदमको समर्थन गर्दै भने ‘सम्माननीय सभामुख महोदय, सबैैभन्दा पहिले राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट सम्माननिय सभामुखज्युलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।’
उनले भने– ‘हामीले दुई विषयलाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थियौं । गिशिचन्द्रलाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सर्लाहीका तीन वटा घटनाको सही तथ्य बाहिर आउनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएका थियौँ, सभामुखको पहलकदमीबाट सार्थक निष्कर्षमा पुग्ने काम भयो, सबै प्रति आभार व्यक्त गर्छौं’ ।
उनले केही दिनदेखि सभामुखको सक्रियताले सत्तापक्ष र प्रतिपक्ष बीचमा एउटा सार्थक संवादको माध्यमबाट एउटा निष्कर्षमा पुगेको भन्दै उनले खुसी व्यक्त गरे । उनले भने ‘यसबाट लोकतान्त्रिक पद्धतिका लागि र हामी बीचमा भएका समस्यालाई संवाद र वार्ताको माध्यमबाट समाधान गर्न सक्छौँ भन्ने एउटा नजिर स्थापित भएको छ’ ।
