काठमाडौं । सरकारले केही समययता विभिन्न व्यक्तिका नागरिकता खारेज गरिरहेकाे छ । गलत विवरण दिएर नागरिकता लिनेहरुकाे खारेज गरियाे । तर, गलत विवरणका अाधारमा नागरिकता दिने कर्मचारीलाई चाहिँ किन कारबाही हुँदैन ? याे प्रश्न उठाएका छन् नेकपाका सांसद् ह्रदयेश त्रिपाठीले ।
साेमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै त्रिपाठीले गलत विवरणका अाधारमा नागरिकता दिने कर्मचारीलाई कारबाही गरी सदनलाई जानकारी गराउन माग गरे । उनले भने, ‘नागरिकता पाउनेलाई मात्रै कारबाही गर्ने तर नागरिकता दिनेलाई चाहिँ किन कारबाही हुँदैन ?’
नागरिकता कसैले आफैं बनाएको वा बजारबाट किनेको हैन होला भन्दै उनले भने, ‘नागरिकता त खारेज गरियो । तर जसले दिएका छन् तिनमाथि कारबाही भयो कि भएन ? अहिलेसम्म कति जनामाथि कारबाही भयो ?'
'उनीहरुले बजारबाट नागरिकता किनेका हुन् ? आफैले नागरिकता बनाएर आफैले हस्ताक्षर गरेको होइन होला। प्रमाणपत्र दिने अधिकारीमाथि केके कारबाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रृहीत हुन्थ्यौं होला।’
उनले यस वर्ष पनि रासायनिक मलको अभावले कृषि क्षेत्र पुनः प्रभावित हुने देखिएको बताएका छन् । बर्सेनि मल अभाव समस्याको कर्मकाण्डी समाधानतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने विचार सांसद् त्रिपाठीले राखे ।
