काठमाडौं । नेकपाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई 'श्री ३ महाराज' भनेर व्यंग्य गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले जुम्ला अहिले अहिले अन्धकार रहेको र कुरा गर्न खोज्दा मन्त्री पुन र घिसिङले फोन नउठाएको र भेट्न समय पनि नदिएको गुनासाे गरेका छन् ।
२०३८ सालमा स्थापना गरिएको दुई सय किलोवाटको लघु जलविद्युत आयोजना बिग्रेपछि जुम्लामा विद्युत अापूर्ति ठप्प भएको महतले बताएका छन् । सो आयोजना सञ्चालनमा आउन अझै ३/४ महिना लाग्ने उनको भनाइ थियो ।
महतले भने, ‘जुम्लामा विद्युत बन्द भएकाे समाचार यति मिडियामा आइसक्यो, यति सामाजिक सञ्जालमा आइसक्यो । हामीले यति फोन गर्याैं हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज को हो भने कुलमान घिसिङ, अर्का श्री ३ महाराज हुनुहुन्छ वर्षमान पुन ।’
आफ्नो जिल्लाको समस्या कसरी राख्ने भन्दै उनले भने, ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? भेट कसरी गर्ने हो ? हाम्रो जिल्लाको समस्या कसरी राख्ने ? ’
उनले सोधे ‘के नेपालमा जुम्ला भन्ने जिल्ला छैन ?’
उनले बिजुली आफूहरुलाई बेचिदिनुपर्याे भनी अाग्रह गर्दै भने, ‘यी श्री ३ हरू भारतलाई यति बिजुली बेच्ने, उति बेच्ने भनेर कुर्लिरहन्छन् । कृपया हामीलाई बिजुली बेचिदिनुस्, जुम्लालाई बेचिदिनुस् ।’
कमिसनको खेललाई जोड्दै उनले भने, ‘यिनीहरुले जहाँबाट कमिसन आउँछ, त्यहीँमात्र बिजुली विस्तार गर्छन् भन्ने सुनेको थिएँ । आज विश्वास लागेको छ ।’
