काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिने बताए ।
अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको भन्दै उनले कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने स्पष्ट पारेका हुन् ।
मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गराए ।
मन्त्री पण्डितले कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने समेत उद्घोष गरे । ‘कार्यालय समयमा कर्मचारीहरुले निजी मामिलामा फोनको दुरुपयोग गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्छौं’ पण्डितले भने ।
