काठमाडौं । दैलेखको नारायण नगरपालिकामा एक २४ वर्षकी एक महिलाले ३५ वर्षकी अर्की महिलालाई कुटपिट गरिन् । धारिलो हतियारले समेत हानिन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा नेकपाकी सांसद पार्वती विशुङखेले यो प्रकरणबारे बोलिन् ।
सदनको शून्य समयमा पार्वतीले भनिन्– ‘नारायण नगरपालिका १० की लछिमा सुनार धारामा पानी लिन गएकी थिइन् । त्यहाँ उनले प्लाष्टिकको ड्रम छोइन् । दलितले आफ्नो ड्रम छोएको भन्दै राजकुमारी न्यौपानेले कुटपिट गरिन् ।’
बैशाख ११ को घटना थियो त्यो । पार्वतीका अनुसार घाइते लछिमालाई अहिले नेपालगञ्जमा उपचार गरिँदैछ । करिब चार महिनादेखि लछिमा अस्पतालको बेडमा छिन् ।
लछिमाको लगभग ज्यान लिने गरी कुटपिट गर्ने राजकुमारीलाई प्रशासनले कुनै कारवाही गरेन । यो दुखेसो पोख्दै पार्वतीले भनिन्– ‘सदनमा कुरा उठाइयो, गृहमन्त्रीलाई भेटियो तर कारवाही भएन ।’
उनले भनिन्– ‘हाम्रो संविधानको धारा १८ र...’ । यो वाक्य चाहिँ पार्वतीले पूरा गर्न पाइनन् । किनभने पार्वतीको माइक काटियो । प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले बोल्नका लागि एक मिनेट समय पाउँछन् । एक मिनेट पुग्नासाथ माइकको लाइन काटिन्छ । यही कारण बोल्दाबोल्दै पार्वतीको माइकको लाइन काटिएको थियो ।
खासमा यो घटना के हो ? शून्य समयमा बोले लगत्तै पार्वतीसँग सनराइज खबरले सम्पर्क गर्यो ।
पार्वतीका अनुसार गत बैशाख ११ गते कुटपिट गरिएपछि भोलिपल्ट लछिमाले प्रहरीमा जोहरी दिइन् ।
लगत्तै पीडक राजकुमारी फरार भइन् । घटना हुनु पहिले पनि राजकुमारीेले लछिमालाई दुई पटक कुटपीट गरिसेकेको पार्वतीले बताइन् ।
‘मेरो भाडा किन छोइस् ? तँ कमिनीलाई मार्छु’ भन्दै धारिलो हँसियाले हानेर राजकुमारीले लछिमालाई गम्भीर घाइते बनाइन् । लछिमाको टाउकोमा गहिरो चोट लागेको छ ।’
यो प्रकरणमा किन कारवाही भएन ? यसबारे पार्वती भन्छिन्– ‘सोही वडाका अध्यक्ष लोकबहादुर थापा र नेकपाका नेता लोमन शर्माले जातीय विभेद सम्बन्धी मुद्धा दर्ता नगराउन पीडितलाई दवाव दिएका थिए ।’
उनीहरुको दवावका बावजुद, जिल्ला स्थित दलित प्रतिनिधि र प्रहरीको सहयोगमा वैशाख १२ गते मुद्धा दर्ता भए पनि अहिलेसम्म लछिमाले न्याय नपाएको र पीडक राजकुमारीलाई कारवाही नगरिएको पार्वती बताउँछिन् ।
यो प्रकरणमा कारवाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापासँग तीनपटक र गृह सचिव प्रेम राईसँग दुईपटक भेटेको पार्वतीले बताइन् । ‘दलित अधिकारकर्मीहरु सहित मैले गृहमन्त्री र सचिवलाई भेटेर कुरा राखें, हामीले ज्ञापनपत्र पनि दियौं । तर, कारवाही भएन’– पार्वतीको गुनासो छ ।
