काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामराय यादवले उखु किसानको पीडाको बारेमा आवाज उठाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै यादवले भने, ‘किसानले ठुलो सपना देखेर उखु लगाउँछन् । उखु बेचौंला छोराछोरी पढाउँला, औषधीउपचार गरौंला, छोराछोरीको बिहे गरौला । अनेक सपना बोकेर दुखका साथ उखु लगाउछन्, तर उखुको पैसा किसानले तीन–चार वर्षदेखि पाएका छैनन् ।’
उनले यस्तो गम्भीर विषयमा तत्काल सम्बन्धित निकायको ध्यान जानुपर्ने माग राखेका छन् । उनले उखुको मुल्यबारे भने केही बोलका छैनन् ।
यसैगरी यादवले हालैको प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त प्रकोपबाट बाँचेकाहरुको उचित व्यवस्थापन गर्न र राहात प्रदान गर्न पनि माग गरेका छन् ।
त्यस्तै सांसद यादवले वर्षायाममा सर्लाहीको लखनदेही खोलाले वर्षैपिच्छे करिब दुईलाख मानिसको जनजीवन कष्टकर बनाउने गरेको भन्दै हरेकवर्ष हुने यस्तो घटनालाई सानो–सानो तटबन्ध भन्दापनि लखनदेही नदीलाई नियन्त्रण परियोजना ल्याउनुपर्ने माग सरकारसँग राखेका छन् ।
