काठमाडौं । बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको बैठकमा मोहन बानियाँले जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै त्यसतर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए । उनले विशेष र शून्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारीपूर्वक सुनुवाइ हुनुपर्ने भन्दै सभामुखमार्फत् सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन सभामुखसँग आग्रह गरे ।
सांसद् रंगमती शाहीले जनता विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य भइरहेको भन्दै जनताको स्वास्थ्यप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् । उनले भनिन्, 'विषादीयुक्त तरकारी खाएपछि बिरामी भइन्छ भन्ने थाहा छ । प्रधानमन्त्री ज्यू, तपाईं बिरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ । हामी जनता बिरामी भए सिटामोल खान पाउँदैनौँ । हामी जनता बाँचेपछि नै तपाईंको रेल र पानीजहाज चढौँला । हामी नै बाँचेनौ भने तपाईंको रेल र पानीजहाज कसले चढ्ला ? यो जनताको आवाज हो ।'
सांसद विमला नेपालीले लोकसेवा आयोगले हजारभन्दा बढी पदका लागि आव्हान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाइ नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । यसले जारी असन्तुष्टिलाई मलजल पुगी अर्को द्वन्द्व निम्तने खतरा रहेको भन्दै उनले सरकार समानुपातिक समावेशीको विरोधी हो ? भनी प्रश्न गरिन् ।
बृजेशकुमार गुप्ताले बाली लगाउने समयमा किसानले मलखाद नपाएको भन्दै भविष्यमा खेतीको समयमा मल अभाव हुन नदिन पूर्वतयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
भैरवबहादुर सिंहले बझाङ जिल्लाको थलरा गाउँपालिकामा एक महिलाको बलात्कारपछि हत्या गर्ने प्रयास भएको भन्दै अपराधी पहिचान गरी कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
महेश बस्नेतले सूर्य विनायकदेखि धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । कोटेश्वर–बनेपा–सिन्धुली नेपालकै मुख्य दोस्राे नाका भएको र दैनिक दुई हजार सवारी साधन सञ्चालन हुँदै आएको भन्दै उनले कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्दै डिपिआरको प्रक्रिया अघि बढाएको भए पनि ढिलासुस्ती भइरहेको भन्दै उनले त्यस कार्यमा तदारुकता देखाउन मन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद यज्ञराज सुनुवारले ओखलढुंगाका अधिकांश स्थान सुख्खाग्रस्त भई स्थानीय आक्रान्त बनेको भन्दै स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी सांसदहरु राजेन्द्रकुमार राई, रानी मण्डल लगायतले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत र पुनःस्थापनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
