काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।
कांग्रेसले क्वारेन्टाइनको उचित प्रबन्ध गर्दै जडिबुटी निकासीलाई सहज बनाउनबारे छलफल गर्न भन्दै प्रस्ताव दर्ता गराएको हो ।
सांसद रंगमति शाहीको प्रस्ताव तथा बालकृष्ण खाँण, डिला संग्रौला पन्त तथा प्रकाश रसाइदी स्नेहीको समर्थनमा संसद सचिवालयमा दर्ता नं १२ मा प्रस्ताव दर्ता गरिएको हो ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम प्रस्ताव दर्ता गराइएको हो ।
प्रस्तावमा क्वारेन्टाइनको अवरोधले संकलित जडिवुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव पार्ने बताइएकाे छ । त्यसैले क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिवुटी निकासीलाई सहज बनाउन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको उल्लेख छ ।
सो प्रस्तावमा क्वारेनटाइनको कारणले जडिबुटी निकासीमा आएको अवरोधलाई अन्त्य गर्न छलफल गर्नुपरेको पनि प्रस्तावमा उल्लेख छ ।
