काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले पर्यटनसम्बन्धी भौतिक संरचना पुनःनिर्माण तथा नवनिर्माण गर्दा नेपाली मौलिकता झल्किने गरी निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै सांसद्हरूले विद्यमान भूमण्डलीकरणको अवस्था र आधुनिकताप्रतिको बढ्दो आकर्षणले भौतिक संरचनामा रहेका नेपाली मौलिक कला र संस्कृति लोप हुँदै गएकाले तिनको संरक्षण र विकासमा सचेत हुन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
सांसद् डा. विमला राई पौड्यालले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै नेपाल विभिन्न जातजाति, धर्म, परम्परा, कला र संस्कृतिले धनी देश भएकाले मौलिक नेपाली कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनको आवश्यकतामा जोड दिइन् । पुराना भौतिक संरचनाको जीर्णोद्धार, पुनःनिर्माण र नयाँ बन्ने तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सार्वजनिक भौतिक संरचनामा मौलिक कला र संस्कृति झल्काउने कुराको सुनिश्चितता गर्नका लागि आफूहरूले सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको उनले स्पष्ट पारिन् ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव यी विषय समेटिएका छन्– भूकम्प, पुराना भएका वा अन्य कुनै कारण क्षतिग्रस्त मठ मन्दिर, होटेल, संग्रहालय लगायतका सबै सार्वजनिक भौतिक संरचनाहरूको जीर्णोद्धार र पुनःनिर्माण गर्दा डिजाइन अवस्थादेखि नै स्थानीय जातजाति, परम्परा झल्काउने मौलिक कला र संस्कृतिको उपयोग गर्ने ।
भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरू, देशका विभिन्न जिल्लामा बनेका वा बन्दै गरेका आन्तरिक विमानस्थलहरू, संघ, प्रदेश र स्थानीय तहमा बन्दै गरेका वा अब बन्ने मठमन्दिर, संग्रहालय, सभा, सम्मेलन गृह, होटेल, कार्यालय भवन आदि सार्वजनिक महत्वका र पर्यटनका दृष्टिकोणले महत्वपूर्ण भौतिक संरचना डिजाइन र निर्माणमा अनिवार्य राष्ट्रिय तथा स्थानीय नेपाली संस्कृति झल्काउने मौलिक कलाको उपयोग गर्ने । यसका लागि सम्बन्धित निकायले आवश्यक मापदण्ड र कार्यविधि बनाई लागू गर्ने ।
सांसद्हरू कालिबहादुर मल्ल, रमेशजंग रायमाझी र प्रमिला कुमारीले सार्वजनिक महत्वको प्रस्तावको समर्थन गरेका थिए ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावबारे छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिकता देखिने गरी बुटिक विमानस्थलको रुपमा रुपान्तरण गर्ने निर्णय भए अनुसार काम भइरहेको जानकारी दिए । साथै अन्य विमानस्थलमा पनि नेपाली मौलिकता झल्काउने विषयलाई प्राथमिकतामा राखिने भट्टराईले बताए ।
राष्ट्रिय सभाको अर्को बैठक साउन २६ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।
